कांग्रेस बैठकमा देउवा र पौडेलबीच लफडा, बैठक छोडेर बीचैमा निस्किए देउवा
काठमाडौं- बुधबार सिंहदरबारमा बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बैठकमा वरिष्ठ नेता पौडेलसँग चर्काचर्की भएपछि देउवाले बैठक नै छाडेर निस्किएका छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवाले बीचमै बैठक छाडेको एक नेताले बताए ।
बैठककमा वरिष्ठ नेता पौडेलले तीनवटा प्रस्ताव अघि सारेका थिए । त्यसमा एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेसन सार्नुपर्ने र पार्टीबाट मन्त्री बनाउँदा आफूखुसी किन गरेको भन्दै देउवासँग जवाफ मागेका थिए । पौने चार बजेबाट सुरु भएको बैठक चर्काचर्कीमै सिमित भएपछि देउवा बाहिरिएका थिए ।
बैठकमा देउवा पटकपटक झोक्किएपछि तनावको माहोल बनेको बताइएको छ । पौडेलले प्रस्तावसहित जवाफ मागेपछि देउवा पटकपटक झोक्किएको बताइएको छ ।
सभापति देउवा पटकपटक झोक्किएर उठेर हिँड्ने तयारी गरेका थिए । नेताहरूले उनलाई समाएर बस्न आग्रह गरेका थिए । त्यसपछि केही बेर बसेका देउवा पाँच दलीय गठबन्धनको बैठकमा जानुपर्ने भन्दै बैठकबाट निस्किएका थिए ।
देउवा निस्किएपछि पनि अरू नेताहरू बसेर महाधिवेशन सार्ने सहमति गरेका छन् ।