अनौठो घटना: सर्वोच्च अदालतले सर्वोच्चलाई नै पठायो जवाफ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अनौठो घटना: सर्वोच्च अदालतले सर्वोच्चलाई नै पठायो जवाफ



काठमाडौं- संवैधानिक इजलासमा प्रधानन्यायाधीशको भूमिकाबारेको मुद्दामा सर्वोच्च अदालतलते सर्वोच्च अदालतलाई नै लिखित जवाफ पेस गरेको छ। सर्वोच्चले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने भन्दै जवाफ पठाएको हो।

सर्वोच्च अदालत रजिस्ट्रार नारायणप्रसाद पन्थीले पठाएको लिखित जवाफमा संविधानले नै संवैधानिक इजलासबाट निरूपण हुने भनी तोकेका मुद्दामा अरू इजलासबाट निरूपण हुन नसक्ने र प्रधानन्यायाधीशविना इजलास बस्न नसक्ने भन्दै रिट खारेजीको माग गरिएको छ।

अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको मुद्दामा रजिस्ट्रार पन्थीले लिखित जबाफ पेस गरेका हुन् । जबाफमा न्यायाधीशले इजलासमा बस्ने या नबस्ने विषय विवादको सुनुवाइ गर्ने न्यायाधीश र इजलासको तजबिजी अधिकार भएको जिकिर गरिएको छ।

‘कस्ता विवादको निरूपण हुने भनी तोकिएको अवस्था छ। यसरी संविधानले नै संवैधानिक इजलासबाट निरूपण हने भनी तोकेका मुद्दा एवं निवेदन बृहत् पूर्ण डजलासबाट निरूपण हुन सक्ने अवस्था हुँदैन। अतः उल्लिखित आधार र कारणबाट निवेदकले लिएको जिकिरबमोजिमको आदेश जारी हुने अवस्थाको विद्यमानता नहुँदा निवेदन खारेज गरी पाउन सादर अनुरोध छ,’ जवाफमा भनिएको छ।