अब एमालेको सदस्यता लिएको १५ वर्षपछि मात्र केन्द्रिय सदस्य बन्न पाउने - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अब एमालेको सदस्यता लिएको १५ वर्षपछि मात्र केन्द्रिय सदस्य बन्न पाउने



काठमाडौं- नेकपा एमालेमा अब चाहेजस्तो सजिलो गरि राजनीति गर्न नपाइने भएको छ । फास्ट ट्र्याकमा राजनीति गर्नेहरूका लागि एमालेमा असम्भव बनेको छ ।

महाधिवेशन प्रतिनिधि बन्नको लागि पनि पार्टी सदस्यता लिएको कम्तिमा १० वर्ष पुगेपछि मात्रै सम्भव हुने भएको छ । महाधिवेशन प्रतिनिधि बन्न पाउने अवसर सदस्य बनेको १० वर्षपछि मात्रै प्राप्त हुने भएको छ ।

एमालेको विधान महाधिवेशनका लागी संशोधित विधान मस्यौदामा भनिएको छ – राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ।

तर, अरूलाई १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने भनिए पनि महिला, दलित, श्रमजिवी वर्ग, सीमान्तकृत जनजाति र अपांगता भएकाहरुको हकमा भने ७ वर्षमै यो अवसर प्राप्त हुने छ ।

केन्द्रिय सदस्य बन्न

एमालेको विधान महाधिवेशनका लागी संशोधित विधान मस्यौदामा भनिएको छ महाधिवेशन प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने अवसर पनि प्राप्त हुँदैन ।

एमाले केन्द्रिय सदस्यका लागि थप ५ वर्ष अझै पर्खिनुपर्नेछ । यस्तै केन्द्रीय कमिटीको पदाधिकारीका लागि स्थायी कमिटी वा पोलिटब्युरो र स्थायी कमिटी सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय सदस्यको एक कार्यकाल पुरा भएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

विधानमा केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि कम्तिमा १५ वर्ष पार्टी सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको छ भने पार्टीको जिम्मेवार निकायमा काम गरिसकेको र केन्द्रीय प्रतिनिधि पनि भइसकेको हुनुपर्नेछ । तर आरक्षण कोटाका लागि यसमा १० वर्षको सीमा निर्धारण गरिएको छ ।

यो संसोधनले एमालेको सांगठनिक रूप बदल्ने र थप मजबुत बन्ने देखिएको छ ।