यी हुन् एमाले स्थायी कमिटीमा छलफल भएका तीन प्रतिवेदन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

यी हुन् एमाले स्थायी कमिटीमा छलफल भएका तीन प्रतिवेदन



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ। सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका तीन प्रतिवेदनमाथि छलफल गरेको हो।

बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधनसम्बन्धी प्रस्ताव, संगठनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाव लिइएको बताए। उनले स्थायी कमिटीले दिएका सुझावलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताए। बैठकले सबै पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उनले बताए।

‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ। स्थायी कमिटीका सदस्य कमरेडले प्रतिवेदनमाथि आफ्ना गहन सुझाव दिएको छ। विधान संसोधनसम्बन्धी प्रस्ताव, संघठनसम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव तीन वटै प्रस्तावमा स्थायी कमिटीका कमरेडहरुको सुझावहरु प्रस्तुत भएका छन्,’ नेता योगेश भट्टराईले भने।

एमाले केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बस्दैछ। बैठकबाट यी प्रतिवेदनमाथि सुझाव लिइने र असोज १५,१६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने भट्टराईले बताए। आइतबारदेखि चलेको पार्टीको केन्द्रीय कमिटीको बैठक सोमबार सम्पन्न भएको छ।