आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नेकपा एमालेले गरेको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन नसकेको बैठक आजका लागि बोलाइएको छ ।

भदौ २९ गतेपछि आज बैठक बस्न लागेको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक केही समयपछिका लागि बोलाएर एमालेसँग सहमति खोज्ने प्रयास गरे पनि ठोष उपलब्धी हुन सकेको छैन ।

संसदको अवरोध हटाउन सभामुख सापकोटाले सर्वदलीय बैठक आयोजना गरेका थिए । तर एमालेले भने बहिष्कार गरेको थियो ।

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरेको छ ।

यस्तो छ कार्यसुची

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुनेछ । त्यसपछि सांसदहरुले उठाएको प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनेछन् ।

अर्थमन्त्रीले जवाफ दिएपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जानेछ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावपछि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी रहेको छ ।

तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद बैठक अवरोध गर्ने जनाएको छ । एमाले सचेतक शान्ता चौधरीले आजको संसद बैठक पनि अवरोध कायमै गर्ने बताइन् । २३ भदौबाट सुरु भएको संसद बैठक एमालेले लगातर अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण सरकारले विनियोजन विधेयक पास गर्न सकेको छैन । विधेयक पास नहुँदा सरकारको खर्च रोकिएको छ ।

अर्थमन्त्री शर्माले संसदमा पेश गरेको प्रतिस्थापन विधेयक संसदमा विचाराधिन भएपछि सरकारी कोषबाट रकम खर्च गर्न पाएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । उक्त बजेटलाई प्रतिस्थापन गर्ने गरी शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक पेश गरेका थिए । तर उक्त विधेयक संसदबाट पास हुन सकेको छैन ।

यसअघि ल्याएको बजेट ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत संसदमा पारित गर्नुपर्ने संवैधानिक ब्यवस्था छ । तर ६० दिनमा विधेयक पारित नभएपछि सरकारको खर्च राकिएको छ । सरकारले बजेटको प्रतिस्थापन विधेयक यही असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने तयारी गरेको छ ।