म व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति गर्ने व्यक्ति होइन: भीम रावल - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

म व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति गर्ने व्यक्ति होइन: भीम रावल



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् ।

गृह जिल्ला अछाम जाने क्रममा आज डोटीमा रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए ।

‘म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैंमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छु ।’

राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको उनको भनाइ थियो ।

‘मैले पार्टी फुटाउन जोड दिएको भन्ने कुरा सरासर गलत हो, म पार्टी फुटाउने नभई पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको छु,’ उनले भने ।

माधवकुमार नेपालको पार्टीको विधान मस्यौदा तयार गर्ने आफू रहेको भन्ने कुराको पनि खण्डन गर्दै उनले उक्त हल्लामा कुनै सत्यता नरहेको जानकारी दिए ।

नेता रावलले अहिलेको जटिल परिस्थितिमा एमालेप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण नेता कार्यकर्ता तथा शुभचिन्तकले पार्टी एकता प्रक्रियालाई अझै सशक्त बनाउन सबैलाई एकताको सन्देश दिन आग्रहसमेत गरे ।

उनले अहिलेको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने र दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुने कुरा भएको बताए ।