योगेश भट्टराईले भने: सुदूरपश्चिमको इन्चार्ज भीम रावल नै हो
काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले एमाले सुदूरपश्चिमको इन्चार्ज भीम रावल नै भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखराज भट्टलाई एमाले सुदूरपश्चिमको इन्चार्ज तोकेपछि विवाद र आलोचना चलिरहेको बेला नेता भट्टराईले यस्तो बताएका हुन् ।
नेता भट्टराईले एमाले सुदूरपश्चिमको इन्चार्ज भीम रावल नै भएको र पार्टीमा १० बुँदे सहमति कार्यान्वयन भैरहेको बताए । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा राजेन्द्र बानियाँसँग कुरा गर्दै भट्टराईले यस्तो बताए ।
एमालेमा त १० बुँदे सहमति पनि कार्यान्वयन गर्न नपर्ने, ओलीले जे भन्यो त्यहि निर्णय हुने नेताहरूका पुराना जिम्मेवारी पनि फिर्ता नहुने अचम्म छ नि ? भन्ने प्रश्नको जवाफमा नेता भट्टराईले १० बुँदे सहमति लागु भैरहेको र हुने क्रममा भएको बताएका थिए । उनले पार्टीमा अब कुनै पनि बिमति नभएको समेत बताएका थिए ।
तेसो भए सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो त ? भन्ने प्रश्नको उत्तरमा नेता भट्टराईले इन्चार्ज भीम रावल नै भएको बताए । ‘भीम रावल नै हो नि इन्चार्ज’ उनले भने । उनले उत्तर दिन नपाउँदै उनीमाथि प्रश्नकर्ताले अर्को प्रश्न तेर्साए ‘ओलीले त निवासमै लेखराज भट्टलाई बोलाएरै इन्चार्ज तोकेर पठाउनु भयो त ?’ जवाफमा भट्टराईले भने, ‘पार्टीको कुनैपनि बैठकमा ओलीले त्यस्तो जिम्मेवारी दिनुभएको छैन । पार्टीका सबै बैठकमा म उपस्थित भएको छु । त्यस्तो कुनै जिम्मेवारी तोकिएकै छैन ।’
नेता भट्टराईले जेठ २ मा फर्कने निर्णयमा छलफलका क्रममा केहि जिम्मेवारी भने थपघट हुनसक्ने बताए ।