सरकारले बनायो नयाँ भूमि आयोग: कांग्रेसको भागमा अध्यक्ष
काठमाडौं- सरकारले सुकुम्बासी समस्या समाधानका लागि ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो।
आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरिएको छ। निरौला र खड्काले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शपथ लिएका छन् । निरौलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका थिए।
अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए। निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ । उनी बाग्लुङ निवासी हुन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुमबासीका समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकाले आफ्नो नेतृत्वको आयोगले ती समस्याहरूलाई हटाउने प्रयास गर्ने बताए ।
यसअघि ओली नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरे पनि देउवा प्रधानमन्त्री भएपछि सो आयोग खारेज गरिएको थियो।
“भूमि आयोग गठन भएको छ । दलित भूमिहीन, भूमिहीन र अव्यवस्थित बसोवासीहरूको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ । सुकुमबासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरू थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिशद्ध हुनेछौँ,” अध्यक्ष निरौलाले भने ।