प्रदेश १ मा मन्त्रिपरिषद बिस्तार - निभ्ने बेलाको दियो चर्को - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

प्रदेश १ मा मन्त्रिपरिषद बिस्तार – निभ्ने बेलाको दियो चर्को




प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद बिस्तार गरेका छन् । बुधवार आर्थिक मामिला मन्त्रालयमा तुलसीप्रसाद न्यौपाने र भूमि व्यवस्था मन्त्रालयमा हिराकुमार थापालाई नियुक्त गरिएको हो ।
त्यस्तै पर्यटन राज्यमन्त्रीका रूपमा उत्तमकुमार बस्नेत, भूमि राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी, आन्तरिक मामिला राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई आचार्यले नियुक्त गरेका छन् ।
गत भदौ १० गते मुख्यमन्त्री बनेका आचार्य शुरूदेखि नै अल्पमतमा थिए । भदौ १ गते नै एमालेका नेता माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए । उक्त पार्टीमा प्रदेश १ बाट दर्जन बढी सांसदहरूले सनाखत गरिसकेका छन् ।
मुख्यमन्त्री बनेको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेश १ मा यतिबेला एमाले अल्पमतमा परेको छ ।
भदौ १० गते मुख्यमन्त्री बनेका आचार्यले असोज १० गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । अल्पमतमा परेका आचार्यको बहिर्गमन निश्चित छ । तर उनले मन्त्रिपरिषद बिस्तार गरेका छन् ।
नेकपा एकीकृत समाज्वादीका एक नेताले भीम आचार्यको यस्तो कदमलाई निभ्ने बेलाको दियो को संज्ञा दिए । ‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले मन्त्रिपरिषद बैठक बिस्तार गर्नु हास्यास्पद छ । हामीले छिटै मुख्यमन्त्रीज्यूलाई घर पठाउँदैछौं,’ ती सांसदले भने ।
९२ सांसद भएको प्रदेश १ मा साविक एमालेका ५१ सांसद थिए । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, प्राप्र्पा र संघीय लोकतान्त्रिक मंचका १/१ सांसद छन् । माओवादी केन्द्रले तत्कालीन संसदीय दलका नेता टंक आङ्बुहाङलाई सांसदबाट हटाएपछि प्रदेश सभामा हाल ९२ जना सांसद कायम रहेका हुन् ।
यतिबेला प्रदेश १ बाट १० जना सांसदले एकीकृत समाजवादी रोजिसकेका छन् । आचार्यलाई बहुमत पुर्याउन कम्तीमा ४७ सांसद आवश्यकता पर्छ । त्यो संख्या अहिले छैन । आचार्यको बहिर्गमन निश्चित छ ।
बहिर्गमन निश्चित भएको अवस्थामा आचार्यले केही दिन भएपनि आफ्नालाई मन्त्री बनाउने खेल खेलेको प्रतिपक्षी दलहरूले आरोप लगाएका छन् ।