केही नेता र कर्मचारी डलरको लोभमा एमसिसीको समर्थन गरिरहेका छन्: विप्लव - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

केही नेता र कर्मचारी डलरको लोभमा एमसिसीको समर्थन गरिरहेका छन्: विप्लव



काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसिसी परियोजना राष्ट्रघाति भएको बताएका छन्। काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै विप्लवले यो नेपाल र नेपाली जनताकोविरुद्ध रहेको बताए।

आफूले प्रतिबन्धमा रहँदा नै एमसिसीका सबै बुँदा अध्ययन गरेको बताउँदै उनले यसमा त्यतिखेरै विमति जनाएको बताए। ‘नेपालमा एमसिसी जबरजस्ती लादिँदैछ। प्रतिबन्धमा हुँदा नै हामीले यसका सबै बुँदा पढेका थियौं। त्यही बेला हामीले सबै मोर्चा र एमालेका उपाध्यक्ष भीम रावल, लिलामणी पौडेललाई यसको विरोधमा उत्रिन आग्रह गरेका थियौं। हामीले भनेका थियौं उहाँहरुलाई तपाईंहरु बाहिरबाट बिरोधमा उत्रिनुस् हामी त प्रतिबन्धमा छौं भित्रबाट हामी विरोध गर्छौं। यसका समर्थकलाई धुलोपीठो बनाइदिन्छौं।’

विप्लवले एमसिसी राष्ट्रिय स्वाधिनता तथा सार्वभौमिकताकाविरुद्ध रहेको बताए। उनले एमसिसी नेपालको कानुनमाथि रहने कुरा उल्लेख गरिएको भन्दै भने, ‘यसलाई नेपालको कानुनमाथि रहने भनिएको छ। परियोजना अन्तर्गत बन्ने सबै टावरमा अमेरिकाको अधिकार र सुरक्षा हुनेछ लेखिएको छ। यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि गरिएको सम्झौता भनिएको छ। के नेपालका सेना तथा प्रहरीले सुरक्षा दिन सक्दैनन्। के नेपालका सेना-प्रहरी जनतालाई दमन गर्नलाई मात्र हुन्?’

उनले एमसिसीको डलरको लोभमा केही नेता र कर्मचारी परेकाले यसको समर्थन गरिरहेको बताए। उनले विदेशी डलरको लोभमा परेर एमसिसी पास गराउन खोजिए आज विरोधमा उत्रिएको सानो झिल्को राँको बन्ने बताए।