सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सभामुखले बोलाएको बैठक एमालेद्वारा बहिस्कार



काठमाडौं- सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ ।

सभामुखले बोलाएको बैठकमा एमाले सहभागी नहुने सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले समस्याको समाधान गर्नुभन्दा पनि सभामुखले थप द्वन्द्व निम्त्याउने प्रयास गरेकोले आफूहरूले बैठकमा सहभागी नहुने निर्णय गरेको बताए ।

‘सभामुखले नाटक देखाउनका लागि बैठक बोलाउनुभाे । समस्या एमालेको कारणले हो भने सत्तापक्ष र एमालेलाई राखेर बैठक गर्नुपर्थ्यो’, उनले भने, ‘दलीय मान्यता समेत नपाएको नेकपा एसलाई समेत निम्त्याएर उहाँले द्वन्द्व निम्त्याउन खोज्नुभो । त्यसैले हामी बैठकमा सहभागी हुँदैनौँ ।’

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि आफूहरू सभामुखले बोलाएको बैठकमा सहभागी नहुने बताए ।

सभामुख अग्नि सापकोटाको आह्वानमा आज दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा सर्वदलीय बैठक बस्दै छ । उक्त बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बाेलाइएकाे छ ।

बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

एमाले अध्यक्ष ओली यसअघि पनि सभामुखले बोलाएको बैठकमा सहभागी हुने गरेका थिएनन् ।