राई बने नेकपा (एस) प्रदेश १ को संसदीय दलको नेता, भीम आचर्य अल्पमतमा
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।
एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै एकीकृत समाजवादी पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।
बैठकबाट हामीले राजेन्द्रलाई दलको नेता चयन गरेको र आजै प्रदेशसभामा दलको नेता चयन र भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने त्क्यारी भएको बताइएको छ ।
प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।
अब भीम आचार्य अल्पमतमा परिसकेकाले असोज ९ गतेभित्र उनले विश्वासको मत लिनुपर्छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा तत्कालिन मुख्यमन्त्री शेरधन राईलाई पदबाट राजीनामा दिन लगाएर भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका थिए ।
संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।