संसद बैठक मंगलवारसम्म स्थगित: एमालेले रोकेन नाराबाजी
काठमाडौं- प्रतिनिधि सभा बैठक मंगलबार सम्मका लागि स्थगित गरिएको छ । अवरोध खुलाउने प्रयास स्वरूप छलफल गर्दा समेत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
आइतवारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक स्थगन गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सांसद खगराज अधिकारी लगायतसँग छलफल गरेका थिए ।
कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेतको सहभागितामा भएको छलफल लगत्तै बसेको दोस्रो बैठकमा समेत एमाले सांसदहरूले नाराबाजी गरे । सभामुखले बैठक शुरू भएको जानकारी गराउनेबित्तिकै एमाले सांसदहरू वेलमा पुगेका थिए ।
सदन सञ्चालन गर्ने वातावरण बनाउन पटक-पटक आग्रह गर्दा पनि एमालेको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले मंगलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।
पार्टीले माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारवाही सदर नगरेको भन्दै एमाले समाभुखसँग रुष्ट छ । यसअघि बुधवार र शुक्रवार बसेका बैठकमा पनि एमालेले नाराबाजी गरेको थियो ।