वंश सखाप पार्ने लोकबहादुरलाई आज सार्वजनिक गरिँदै, प्रहरीसँगै थिए यतिका दिन - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

वंश सखाप पार्ने लोकबहादुरलाई आज सार्वजनिक गरिँदै, प्रहरीसँगै थिए यतिका दिन



काठमाडौं- गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका-१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भयो।

परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो। अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन।

हत्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाईरहेको जस्तो भूमिका खेलेर प्रहरीहरूको समूहसँगै घुलमिल थिए। उनी थिए मृतक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रवार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो। उनलाई सुरु देखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो।

तर ठाेस प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन। अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर कार्की पक्राउ परे।

उनलाई अहिले चैनपुरस्थित इलाका प्रहरी कार्यालय लगिँदै गरेको सङ्घीय इकाई प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालले बताए। अझै भन्ने हाे भने लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत भनिएको थियो।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरु पत्रकार तथा स्थानीयले उनलाई खोजे। उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन्।

‘बडाउ तेजबहादुरको दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो।’

तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि’ भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ। यो घटना गम्भीर छ।’

एउटा परिवारको पुरै वंश सखाप हुनेगरी भएको सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो। यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे।

घटना घटेको दिन मृतक तेजबहादुर कार्कीलाई पहिलो पटक उनैले देखेर हल्ला खल्ला गरेका थिए। अन्ततः तीनै लोकबहादुर कार्की सामूहिक हत्याकाण्डको दोषी बने।

लोकबहादुर मृतक तेजबहादुर कार्कीका साइनोमा भतिजो हुन्। मृतकको घरदेखि करिब १५० मिटरको दुरीमा हत्यारा कार्कीको घर पर्दछ।अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन्। तर घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मार्न बाध्य भएको भनेका छन्।

आज प्रहरीले पत्रकार सम्मेलन गरेर लाेकबहादुरलाई जानकारी सार्वजनिक गर्दैछ।