सुमारसँग देउवाले भने: ‘मैले पहल गरिरहेको छु’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलिनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले एमसीसीलाई अगाडि बढाउनका लागि आफू लागिरहेको बताएका थिए । देउवाले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएको अर्थमन्त्रालयले जनाएको छ ।
“प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०१७ मा सम्पन्न अनुदान सम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको कुरा बताउनुभयो,” अर्थमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
एमसीसी उपाध्यक्ष सुमारले एसमीसी सम्झौता संसदबाट छिट्टै अनुमोदन हुने विश्वास व्यक्त गरेको बताइएको छ ।
उपाध्यक्ष फतिमाले शुक्रबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन् ।