खुमलटारको त्यो सवालजबाफ, प्रचण्डले कुरा उठाएपछि झस्किइन् सुमार - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

खुमलटारको त्यो सवालजबाफ, प्रचण्डले कुरा उठाएपछि झस्किइन् सुमार



काठमाडौं- नेपालको चार दिने भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार शुक्रबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेकी थिइन् ।

राजनीतिक दलका शिर्ष नेताहरूलाई भेट्ने क्रममा उनले माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग भेटेकी हुन् । एमसीसी पास गराउने अन्तिम प्रयाससहित नेपाल आएकी सुमारले खुमलटार पुगेर प्रचण्डसँग लामो छलफल गरेकी थिइन् । करिव एक घण्टा भएको छलफलमा सुमारले एमसीसी पारित गर्न सहयोग गरिदिन आग्रह समेत गरेकी थिइन् ।

तर छलफलको क्रममा प्रचण्डले अमेरिकाले एमसीसी संसदबाट पास गर्न दवाव दिएको बताएका थिए । यसरी दवाव दिने काम राम्रो नभएको भन्दै प्रचण्डले राष्ट्रिय सहमति नभएसम्म एमसीसी अगाडी बढ्न नसक्ने बताएका थिए । उनले एमसीसीको बारेमा विभिन्न प्रश्नहरू उठिरहेका बेला दवावमुलक भेटघाट गर्नु सान्दर्भिक नभएको बताएपछि सुमाराले आफूहरूले दवाव दिने काम नगरेको बताएकी थिइन् ।

प्रचण्डले राजनीतिक दबाव श्रजना गरेको बताएपछि सुमारले आफ्नो बचाउ गर्दै आफू नेपालको स्थिति बुझ्न आएको बताएकी थिइन् । उपाध्यक्ष सुमारले आफू कुनै पनि दबावका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताएकी थिइन् ।

प्रचण्ड सचिवालयका अनुसार भेटमा प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति नबनाएसम्म अगाडि बढ्न नसकिने बताएका थिए । प्रचण्डले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताएका थिए।

फातिमाले एमसीसीबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएकी थिइन् । विहीबार नेपाल भ्रमणमा आएकी उनले विहिबार नै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।