गठबन्धनको बैठकमै देउवाले मन्त्री बन्नेको नाम मागेपछि…
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् ।
शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनका नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिनुस भन्दै आग्रह गरेको बताइएको छ ।
दुई महिना बित्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै आलोचित भैरहेका देउवाले मन्त्रीमण्डल विस्तारको तयारी थालेका हुन् ।
बैठकमा प्रधानमन्त्रीले सरकारलाई पूर्ण बनाउन एकदमै ढिलो भइसकेको भन्दै अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने बताएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताइन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।