देउवाले डाके आकस्मिक मन्त्रीपरिषद् बैठक: एमसीसी संसदमा लैजाने तयारी
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बालुवाटारमा शुक्रबार बिहान ११ बजेर ४५ मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।
नियमित रूपमा सोमबार र बुधबार बस्ने मन्त्रिपरिषद्को बैठक आज सुक्रबार बोलाइएको छ । प्रधानमन्त्री देउवाले आजको मन्त्रिपरिषद् बैठकबाट अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा लैजाने निर्णय गराउन लागेको बुझिएको छ ।
हिजै तय भएको सत्ता गठबन्धको बैठक ९ बजे बस्ने तयारी छ । गठबन्धनको बैठकमा एमसीसीबारे साझा धारणा बनाउने प्रयास देउवाले गरेका छन् । उक्त बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
एमसीसी सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली चार दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएको छ। काठमाडौं आएलगत्तै टोलीले विभिन्न राजनीतिक दललाई एमसीसीबारे दवाव दिँदै आएको छ ।
अहिले बस्ने गठबन्धनको बैठकमा एमसीसी संसदबाट पारित गर्ने सहमति जुटेमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर प्रतिनिधि सभाको बैठकमा पेश गर्ने बताइएको छ ।