गठबन्धनमा समस्या आएपछि छलफल गर्न तीन दल पुगे बालुवाटार
काठमाडौं- सत्तारुढ गठबन्धन भित्रका तीन दल आफ्ना असन्तुष्टिबारे छलफल गर्न बालुवाटार पुगेका छन् । उनीहरू पुगेलगत्तै चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बताइएको छ।
गठबन्धनमा समस्या आएपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको छुट्टै बैठक बसेर साझा धारणा बनाएर बालुवाटार पुगेको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल अहिले छलफल भैरहेको छ ।
बालुवाटार स्रोतका अनुसार चार दलको बैठक अघि प्रधानमन्त्री देउवा र प्रचण्डबीच पनि केहीबेर छलफल भएको थियो । देउवा नेतृत्वको गठबन्धन सरकार बनेको दुई महिना हुनै लाग्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन।
सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद विस्तार, एमसीसी लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ। प्रचण्ड, नेपाल र यादवबीच बिहीबार बिहान उपेन्द्र यादवको निवास हात्तीवनमा छलफल भएको थियो।
गठबन्धनमा खटपट भएको चर्चा चलिरहँदा तीन नेताहरुबीच छलफल भएको हो। छलफलपछि उनीहरु देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। अबको हप्ता दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन्।
यसअघि जनप्रतिनिधिलाई दल छान्न दिएको समय सकिए लगत्तै सरकार विस्तार हुने नेताहरुले बताएका थिए। २२ गते दल रोज्न दिएको समय सकिएपनि सरकार विस्तार हुन सकेको छैन।