एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगिन् फातिमा सुमार
काठमाडौं- अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेकी छन ।
आज बिहान ९ बजे काठमाडौंमा अवतरण गरेकी सुमारको पहिलो भेट नै संसद्को प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग हुन लागेको हो । उनीहरूबीच दिउँसो दुई बजे भेट हुने तय भएको थियो ।
चारदिने भ्रमणका लागि नेपाल आएकी सुमारले नेपालमा एमसीसी कार्यान्वयनको वातावरण बनाउन सबैजसो दलका नेताहरूसँग भेट्ने कार्यक्रम तय गरेकी छिन् ।
सुमारले एमाले अध्यक्ष ओलीलगायत एमालेका नेताहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्ने भएकी छिन् । ‘एमसीसी उपाध्यक्षले एमालेका अध्यक्षसहितको टीमसँग भेटवार्ता गर्ने तय भएको छ’, ओलीको सचिवालय स्रोतले भन्यो ।
एमसीसी सम्झौता कार्यान्वयनका लागि संसदबाट अनुमोदन हुनुपर्छ । सम्झौता संसद्मा टेबल भएपनि अहिलेसम्म संसद्को कार्यसूची बन्न सकेको छैन ।
भदौ २३ बाट संसद्को नवौं अधिवेशन शुरू भएको छ, तर प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गरिरहेको छ ।बिहान विमानस्थलबाट सिधै नक्सालस्थित मेरियट होटल पुगेकी सुमार केहीबेर आराम गरेपछि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी हुन् ।
फातिमासँगै सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आएका छन् ।