सर्वोच्चको आदेशप्रति ओलीले गरे यस्तो व्यङ्ग्य - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

सर्वोच्चको आदेशप्रति ओलीले गरे यस्तो व्यङ्ग्य



काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो संसदले कामै गर्न नसक्ने अवस्था आएपछि आफूले विघटनको निर्णय लिएको बताएका छन्। पोखरामा कास्कीका एमाले कार्यकर्ताहरुलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्व प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिदिएको निर्णयलाई आफूहरुले स्वीकारेको पनि बताए। ओलीले अदालतले कांग्रेसले गरेका संसद विघटनलाई सदर गर्ने तर एमालेको विघटनलाई बदर गर्ने चलन रहेको पनि बताए।

‘अदालतले त जे फैसला गरे पनि हामीले मान्नुपर्छ, मानेका छौँ’, उनले भने, ‘कामै नगर्ने संसद विघटन गर्दा अदालतले पुनर्स्थापना गरिदिएको छ।’ संविधानमा जस्तो लेखे पनि अदालतको आफ्नै नियम रहेको भन्दै उनले व्यङ्ग्य गरे।

‘कांग्रेसले विघटन गर्यो भने अदालतले सदर गर्छ, एमालेले गरेको बदर गर्छ। यो थाहा भएकै कुरा हो’, उनले भने, ‘मनमोहन अधिकारीले गरेको बदर भयो। २०५२ सालमा मनमोहन हटाएर शेरबहादुर प्रधानमन्त्री बने।’

अहिले संसद पुन:स्थापना मात्रै नभएर प्रधानमन्त्री नै तोकिएको पनि उनले बताए। ‘पहिले पुनस्थापना मात्रै भयो, अहिले त पुनर्स्थापित मात्रै गरेन, नामै तोकेर संसदलाई बेकामे बनाउने काम भएको छ।’

सर्वोच्चको समेत जोडबलमा एमालेको सरकार ढालिएको उनले बताए। ‘प्रधानमन्त्री तोक्न नहुने हो सर्वोच्च अदालतले, संसारमै यस्तो छैन’, उनले भने, ‘नेपालको सर्वोच्च अदालतले विचित्र गरेको छ।’

२०५९ साल जेठ ८ गते राति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको संसद विघटनलाई पनि उनले सम्झिए। आफ्नै पार्टीभित्रको किचलोका कारण अर्को पक्षलाई तह लगाउन अनि पार्टी फुटाउन देउवाले त्यसबेला संसद विघटन गरेका थिए।