ओलीको प्रश्न: दिनमा १० वटा विदेशी हेलिकप्टर घुम्दा पनि बोल्न नसक्ने के सरकार हो यो ? - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

ओलीको प्रश्न: दिनमा १० वटा विदेशी हेलिकप्टर घुम्दा पनि बोल्न नसक्ने के सरकार हो यो ?



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिमा भारतीय हेलिकप्टर उड्दा पनि सरकार बोल्न नसकेको आरोप लगाएका छन् । उनले जयसिंह धामीको हत्या सम्बन्धमा सरकारले नबोलेर निदाएको स्वाङ पारिरहेको आरोप लगाए ।

मंगलवार पोखरामा कास्की जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार देशभित्र शेर पल्टेर विदेशीको अगाडि टाङमुनि पुच्छर राखेर भागेको आरोप लगाए ।

‘आजको सरकार हेर्नुस् त दिनमा १० वटा विदेशी सैनिक हेलिकप्टर नेपालको भू–भागमा आएर तमासा गरिरहेका छन्, के का लागि आएको हेलिकप्टर ? सरकार नबोल्न भनेर सबैलाई फर्मान जारी गर्छ । हिजो बोल्न पाइछ भन्नेहरू वाक स्वतन्त्रता भन्न छाडे,’ ओलीले भने । केही दिनअघि दार्चुलामा भारतीय हेलिकप्टर नेपाली भूमिमा उडेको समाचार आएको थियो ।

ओलीले भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले महाकाली नदीमाथिको तुइन काटेर जयसिंह धामी बेपत्ता भएको घटना सम्बन्धमा सरकार नबोलेको आरोप लगाए । ‘जयसिंह धामीको तार किन काटियो ? तुइन किन काटियो ? सरकार कानमा तेल हालेर निदाएको छ । बोल्दैन, निदाएको स्वाङ पारेको छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले अहिलेको सरकार आफ्ना जनताका विरुद्ध शेर पल्टिएको र विदेशीका अगाडि टाङमुनि पुच्छर राखेर भागेको आरोप लगाए ।

‘यो सरकार अलोकतान्त्रिक ढंगबाट बनेको गैर जिम्मेवार सरकार हो, देश र जनताको लागि बोल्न सक्दैन । हाम्रो जमिनमाथि किन हेलिकप्टर उडाएको सोधे हुन्न ? पत्र लेखे हुन्छ नि । हामीले त संवाद गरौँ, हाम्रो भूमि फिर्ता लेऊ भन्यौँ त । उहाँहरू किन बोल्न सक्नु हुन्न त, अर्थात उहाँहरूमा दम छैन,’ ओलीले भने ।

ओलीले अब हुने चुनावबाट आफ्नो पार्टी फेरि बहुमतका साथ सरकारमा आउने दाबी गरे ।