अन्तिममा किन रद्द भयो सभामुखको अष्ट्रिया भ्रमण ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

अन्तिममा किन रद्द भयो सभामुखको अष्ट्रिया भ्रमण ?



काठमाडौँ- विश्वभरका सभामुखहरूको सम्मेलनमा भाग लिन जाने तयारीमा रहेका सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन् । सापकोटा आइतबार साँझ अष्ट्रियाको राजधानी भियनाका लागि जाने कार्यतालिका बनेको थियो तर अन्तिम समयमा आएर उनले कार्यक्रम एकाएक रद्द गरेका छन् ।

सभामुखहरूको सम्मेलनमा भाग लिनका लागि २० गते गएर २५ गते फर्किने कार्यतालिका रहेकोमा संसद् अधिवेशन आह्वान भएपछि सभामुख सापकोटा एकाएक रोकिएको संसद् सचिवालयले जानकारी दिएको छ । जाने सबै तयारी गरेका बेला संसद् अधिवेशन आह्वान भएपछि उनी रोकिएको बताइएको छ ।

मन्त्रिपरिषद्को बैठकले शनिबार संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार नै रापष्ट्रपतिले भदौ २३ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिसकेकी छन् ।

सभामुखको नेतृत्वमा राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, कांग्रेस सांसद भीमसेनदास प्रधान र एमाले सांसद लालबहादुर थापा भियना जाने कार्यक्रम थियो । तर, सभामुख संसद् अधिवेशन बोलाएकाले र सांसद प्रधान कांग्रेसको वडा अधिवेशन चलिरहेकाले नजाने भएका हुन् ।

नेपालको तर्फबाट सम्मेलनमा सहभागी हुन उपाध्यक्ष दाहाल र एमाले सांसद थापा भियना जाँदैछन् । इन्टर पार्लियामेन्टरी युनियनले सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।