अर्घाखाँची र कैलालीमा सवारी दुर्घटना: चार जनाको मृत्यु, १४ जना घाइते
काठमाडौं- पछिल्लो २४ घण्टामा कैलाली र अर्घाखाँचीमा भएको छुटाछुटै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भने १४ जना घाइते भएका छन् ।
जसमध्ये अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
११ जना सवार रहेको हाईसमा दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते भएका हुन १० जना मध्ये गम्भिर घाईते ३ जना लाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
७ जनाको प्राथामिक स्वास्थ्य चौकी ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो । घाइते चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेको र अन्य १ जनाको अवस्था सामान्य रहेको जनाईएको छ ।
त्यस्तै, कैलालीमा भ्यान र अटो एक आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् । गएराति करिब ११ बजे कैलालीको गौरीफन्टा नगरपालिका ४ राजिपुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको भ्यान र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै अटोमा सवार ७ जनालाई सेती प्रादेशिक अस्पताल धनगढी पठाएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने युवराज चौधरी, भिगम चौधरी र जितेन चौधरी छन् । यस्तै घाइते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने दिपेन्द्र चौधरी, अटो चालक सुरेश चौधरी, असान्त चौधरी र हरि चौधरी छन् ।
घाइते ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै विइङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका १० का २५ वर्षिय धनु रावल सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानमा चालक र सहचालक मात्र रहेको र चालक फरार रहेको भन्दै प्रहरीले खोजी तीव्र पारेको छ ।