देउवाले गरे जनताको विश्वास जित्ने बाचा - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

देउवाले गरे जनताको विश्वास जित्ने बाचा



काठमाडौं- पार्टी महाधिवेशनको लयमा तातीरहेका बेला नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास जितेर अघि बढ्ने बाचा गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिंदै देउवाले उक्त बाचा गरेका हुन् ।

‘कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ,’ देउवाले भिडियो सन्देशमा भनेका छन्, ‘म तपाईंहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहन्छु ।’

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो भन्दै देउवाले लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धा मार्फत वडा अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।

१४ औं महाधिवेशन मार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिएको बताउँदै देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘बलियो कांग्रेस, समृद्ध देश भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

देउवाले भनेका छन्, ‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’