नेटवर्किङ भन्दै ठगी गर्ने नेचर हर्ब्स लगायत चार कम्पनीमा छापा - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नेटवर्किङ भन्दै ठगी गर्ने नेचर हर्ब्स लगायत चार कम्पनीमा छापा



काठमाडौँ- वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोलीले ४ नेटवर्किङ कम्पनीमा छापा मारेको छ । वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ धन्दा गरिरहेको गुनासो आएपछि विभागले ललितपुरमा रहेको नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, काठमाडौंमा रहेको हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिमा छापा मारेको हो । टोलीले अनुसन्धानका लागि भन्दै कम्पनीले खरिद–बिक्री गरेका बिल, बिक्रीका लागि तयार पारेका सामग्रीसमेत जफत गरेको छ ।

‘यी कम्पनीले स्वदेशीको नाममा विदेशी सामान उच्च मूल्यमा बिक्री गरेको, विभिन्न सामाजिक सञ्जालमार्फत नेटवर्किङ गरेको गुनासो छ,’ विभागका एक अधिकारीले भने, ‘सुरुवाती चरणमा ती कम्पनीहरूका केही कागजात ल्याएका छौं । खरिद–बिक्रीका थप बिल पनि मगाएका छौं ।’ ती अधिकारीका अनुसार जफत गरिएका सामग्री प्रत्यक्ष बिक्रीको नाममा इजाजत लिँदा सुरुमा बिक्री गर्ने भनिएको वस्तु हो/होइन त्यो पनि अध्ययन भइरहेको बताए । ‘यी कम्पनीहरूको विरुद्ध धेरै गुनासो आएको छ । उद्देश्य र तोकिएको सर्तभन्दा तलमाथि गरेर व्यवसाय गरेको भेटिए इजाजत स्थगन गर्छौं,’ ती अधिकारीले भने ।

विगतमा लाखौं सर्वसाधरणलाई ठगी गरेको आरोप खेपेका व्यक्तिबाटै सञ्चालित यी कम्पनीलाई विभागले २०७७ असार १६ देखि इजाजत दिन थालेको हो । इजाजत दिँदा विभागका महानिर्देशक नेत्र सुवेदी थिए भने विभागको वैदेशिक व्यापार नियमन शाखा प्रमुख शिवराज सेढाइ थिए । वस्तुको प्रत्यक्ष बिक्रीको नाममा इजाजत दिइएको हो । हाल विभागका महानिर्देशक प्रकाश पौडेल छन् ।

गत भदौमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन उपसमिति गठन गरेको थियो । उपसमितिको प्रतिवेदनको आधारमा संसदीय समितिले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली, २०७६ सशोधन गर्ने सहित १८ बुँदे सुझाव दिएको थियो । प्रतिवेदनमा विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्टलगायत विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायका माध्यमबाट सर्वसाधारणलाई ठगेका कम्पनीले नै आफ्नो वा परिवारका नामबाट कम्पनी दर्ता गरी पुनः ठगी गर्न खोजेको बुझिन आएकाले त्यस्ता व्यक्तिले कम्पनी दर्ता गर्न आए विगतमा त्यस्ता ठगीसम्बन्धी कारोबार गरे/नगरेको यकिन गरेर मात्रै दर्ता गर्नुपर्ने जनाइएको छ । तर विभागले अहिले बल्ल छानबिन थालेको हो ।

विभागले यी ४ बाहेक इजाजत पाएका अन्य ५ कम्पनीको पनि अनुसन्धान गर्ने जनाएको छ । ‘सुरुमा ४ वटाको अध्ययन गरेपछि अन्य कम्पनीको अवस्था बारेमा पनि अनुगमन गर्छौं,’ विभागका ती अधिकारीले भने, ‘गैरकानुनी भेटिए इजाजत स्थगन हुन्छ ।’

वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ गरिरहेको खुलेपछि नेचर हर्ब्स इन्टरनेसनल प्रालिको सेयर रातारात नामासारी गरिएको थियो । प्रालिका अध्यक्ष गीतेन्द्रबाबु राई (जीबी राई) ले कम्पनीको सेयर कम्पनी दर्ताका बेला साक्षी बसेका कुमार रम्तेललाई बिक्री गरेको पाइएको छ । राईले रम्तेललाई ९० हजार कित्ता शेयर बिक्री गरेका थिए । राई र रम्तेल दुवै विगतमा नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको हर्बो इन्टरनेसनलसँग सम्बन्धित छन् । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ र नियमावली २०७६ बनेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट २०७७ असार १७ मा नेचर हर्ब्सले इजाजत पएको थियो । प्रत्यक्ष वस्तुको बिक्रीको इजाजत पाए पनि नेटवर्किङ कारोबार गरिरहेको खुलेपछि राईले सेयर बिक्री गरेका हुन् । हाल राई अध्यक्ष पदबाट समेत हटेका छन् ।

यस्तै, १० हजार कित्ता सेयर रामबहादुर खनाललाई बिक्री गरिएको छ । उक्त १० हजार कित्ता सेयर छविलाल जोशीको नाममा थियो । जोशी नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हुन् । हाल उनी डाइरेक्ट सेलिङ एसोसिएसनका अध्यक्षसमेत छन् । विभागले गत साउनमा नेचर हर्ब्सलाई स्पष्टीकरण सोधेको थियो । कम्पनीले इजाजत लिनुअघि नै पिरामिड शैलीको कार्य, विज्ञापन र प्रशिक्षण गरेको भन्दै विभागले स्पष्टीकरण सोधेको हो । नेचर हर्ब्सलाई ३ दिनभित्र स्पष्टीकरण दिन पत्र पठाए पनि त्यसपछि छानबिन प्रक्रिया नै अघि बढेन । अहिले विभागले पुनः अनुसन्धान सुरु गरेको हो ।

विभागले छापामारी कागजात ल्याएको अर्को कम्पनी हेल्दी लिभिङ नेपाल प्रालि भारतीय भेस्टिज कम्पनी हो । स्र्रोतका अनुसार नेपालमा प्रतिबन्ध हुँदा पनि यो कम्पनी अनेक नामबाट निर्बाध रुपमा सञ्चालनमा थियो । यसका सञ्चालक टेम्पा शेर्पा र रिद्धि आनन्द शिल्पकार हुन् । ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक वसन्त पन्डित हुन् । उनी विगतमा गोल्डक्वेस्टमा पनि आबद्ध थिए । ग्लोबलमा ईश्वरीप्रसाद दुवाडी, सुमित गौतम, स्मीता थपलिया र ज्योति आचार्य पनि सञ्चालक छन् । न्यु विवेक इन्टरप्राइजेज प्रालिका सञ्चालक मुक्तिसेन गुरुङ र भीमसेन गुरुङ हुन् । उनीहरूले डिएक्सएनको नाममा विगतदेखि नै सामान बिक्री गर्दै आएका थिए । यी ४ बाहेक इजाजत पाएका अन्य कम्पनीहरू पनि विगतमा ठगी धन्दामा मुछिएका छन् ।

पछिल्लो समय बजारमा हाइपर फन्ड ग्लोबल, जोसियल, सिआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स, पोइन्टलगायत विदेशी तथा स्वदेशी कम्पनीहरूले नेपालमा नेटवर्किङ गरिरहेका छन् । विभाग स्वयम्ले नेटवर्किङ भइरहेको स्वीकार गरिसकेको छ । तर ती व्यवसायीहरूलाई कानुनी दायरामा ल्याउन नसकेको राजु चौधरीले कान्तिपुरमा लेखेका छन् ।