माधव नेपालको पार्टी खारेज गर्न माग गर्दै ओलीले दिए सर्वोच्चमा रिट
काठमाडौं- नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
बुधबार एमालेले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध सर्वोच्चमा रिट दायर गरेको अधिक्ता बाबुराम दाहालले जानकारी दिए ।
एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा बुझाएको थियो । तर, सभामुख सापकोटाले सांसदहरूलाई पदमुक्त गर्ने निर्णय नगरेको भन्दै एमाले अदालत गएको हो ।
एमालेले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा पठाएको थियो ।
एमालेले कारबाही गरेका १४ सांसदसहितको सनाखतमा निर्वाचन आयोगले पनि नयाँ दल दर्ता गरेको थियो । सभामुखले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले सभामुखविरुद्ध रिट हालेको हो ।
निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो । उक्त निर्णय विवादास्पद भएको एमालेको ठहर छ । रिटमा माधव नेपालले दर्ता गरेको नेकपा एकीकृत समाजवादी गैरकानूनी रहेको भन्दै बदर गर्न माग गरिएको छ ।
‘बिना कारण हतारमा छुट्टै दल दर्ता गराएको र दर्ता हुनै नसक्ने छुट्टै राजनीतिक दल दर्ता गरेको गैरकानूनी निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरी उक्त गैरकानूनी निर्णय बदर गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले एमालेले कारबाही गरेको लुम्बिनीका सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले रिट हालेको हो ।
‘पद रिक्तको सूचना निर्वाचन आयोगमा पठाउनु पर्ने हो । सो नगरी यसरी सदनलाई जानकारी नगराउने भनि भएको गैरकानूनी निर्णय उत्प्रेषणको आदेशद्धारा बदर गरी आवश्यक परमादेश वा प्रतिषेधको आदेश जारी गरी पाउँ,’ निवेदनमा भनिएको छ ।