मुख्यमन्त्री बनेको ६ दिनमै भीम आचार्यको कुर्ची 'चैट' - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्यमन्त्री बनेको ६ दिनमै भीम आचार्यको कुर्ची ‘चैट’



काठमाडौं- मुख्यमन्त्री बनेको ६ दिनमै भीम आचार्य अल्पमतमा परेका छन्। नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

बुधबार एमालेका १० जना प्रदेश सभा सदस्यहरूले प्रदेश १ को निर्वाचन कार्यालय विराटनगरमा उपस्थित भएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि आचार्य मुख्यमन्त्री बनेको ६ दिनमै अल्पमतमा परेका हुन्। आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले औपचारिक रूपमा विभाजन भएसँगै निर्वाचन आयोगले २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको छ।

सोहीअनुसार बुधबारराजेन्द्र राई, खिनु लङ्वा लिम्बू, गणेश काङ्‍वाङ, राजन राई, सावित्रा रेग्मी, सरिता थापा, पदमकुमारी गुरुङ, सुनिता चौधरी, कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन्।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा हाल ९२ सदस्य कायम छन्। यसमध्ये अब एमालेका ४१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना सदस्य छन्।

अल्पमतमा परेपछि नेता राजेन्द्र राईले मुख्यमन्त्री आचार्यको राजीनामा मागेका छन्। राईले सरकार अल्पमतमा परेकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भन्दै राजीनामा मागेका हुन्।

आचार्यसँग मुख्यमन्त्री जोगाउने अब एउटामात्र विकल्प छ । एकीकृत समाजवादीका एक नेताका अनुसार यदि आचार्यले एमाले त्यागेर नयाँ पार्टीमा आएको खण्डमा उनको कुर्ची जोगिने बताए । त्यसका लागि आचार्यले माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुपर्छ ।

तर मुख्यमन्त्री आचार्यले कुर्ची जोगाउनका लागि एमाले नछोड्ने बताएका छन्। उनले एकीकृत समाजवादी पार्टीमा नजाने घोषणा गरिसकेकाले उनको मुख्यमन्त्रीको कुर्ची अनौपचारिक रूपमा खुस्किसकेको छ ।