सभामुख सापकोटाको १० वर्ष पुरानो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सभामुख सापकोटाको १० वर्ष पुरानो मुद्दा फेरि हेर्न नमिल्नेमा राखियो



काठमाडौं- सभामुख अग्नी सापकोटाविरुद्ध १० वर्ष पुरानो मुद्दाको सुनुवाइ नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएको थियो। तर अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा परेको जनाएको छ।

सापकोटाविरुद्ध मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो। माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै उनीविरुद्ध १० वर्षअघि मुद्दा परेको थियो। द्वन्द्वकालमा लामाको अपहरण पछि हत्या भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्ष रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सदस्य रहेका छन् ।

तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्‍नी पूर्णिमाया लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी थिइन्। २०६२ वैशाखमा माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको भन्दै सापकोटाविरुद्ध उजुरी दिएकी थिइन्। उक्त जाहेरीअनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको थियो।

त्यसपछि लामाको हत्यामा संलग्न रहेको भन्दै सापकोटालाई सभामुख नबनाउन माग गर्दै अदालतमा रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता तथा मानव अधिकारवादी दिनेश त्रिपाठीले सभामुखका लागि योग्य नभएको जिकिर छानबिनका लागि सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए। सापकोटालाई मन्त्री बन्नबाट रोक्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल,पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट जाहेर गरेका थिए।