भीम रावल धनगढी पुगेपछि नेता र सांसदहरूको भागाभाग - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

भीम रावल धनगढी पुगेपछि नेता र सांसदहरूको भागाभाग



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेपछि नेताहरूको भागाभाग मच्चिएको छ । पार्टी विभाजनका लागि उक्साएर अन्तिम समयमा माधवकुमार नेपाल छाडेर एमालेमा फर्किएका रावल पार्टी विभाजनपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश राजधानी धनगढी पुगेपछि नेता र सांसदको भागाभाग भएको छ ।

माधव नेपाल नेतृत्वको नेलापा एकीकृत समाजवादी पार्टीको सनाखत अन्तिम चरणमा पुग्नैलाग्दा रावल मंगलबार धनगढी पुगेका थिए । उनी पुगेलगत्तै नेकपा (एकीकृत समाजवादी)मा लागेका केहि मन्त्रीहरू नै बाटैबाट गायव भएका थिए । एमालेका प्रदेश सांसद् आफ्नो पक्षमा सनाखत गराउन लाग्दा रावल धनगढी पुग्नुलाई समेत अर्थपूर्ण मानिएको छ ।

रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका तीन जना प्रदेश सांसद् सम्पर्कविहीन भए । तीन जना सम्पर्कविहीन भएकोमा १ जना भने सम्पर्कमा आएका थिए । कुलवीर चौधरी भने सम्पर्कमा आएका थिए । उनले निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरिसकेका छन् ।

प्रदेश सांसद्हरु तारा लामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । उनीहरु निर्वाचन कार्यालय जाँदै गर्दा आधा बाटोबाटै हराएका हुन् । उनीहरु हराउनु र भीम रावल धनगढी ओर्लिनु एकै समय थियो । समाजवादीका नेताहरुले रावलसँगको सम्पर्कपछि उनीहरु हराएको आशंका गरेका छन् ।

समाजवादीले आज १३ जनाले सनाखत गर्ने तयारी गरेको थियो । तर १० जनाले मात्रै सनाखत गरे । समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भोलि १४ सांसद् पुग्ने दाबी गरेकी छन् । उनले दुईजना सांसद्को कागजात नपुगेको दाबी गरेकी छन् ।

दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।