सत्ता गठबन्धनमै लफडा: मन्त्रालयको विषयमा बैठकमै नेताहरूबीच चर्काचर्की
काठमाडौं- मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनकै दलहरूमा विवाद देखिएको छ । सरकार बनेको ५० दिन पुग्दासम्म पनि मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको आरोप लागिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलिई पूर्णता दिने लाग्दा गठबन्धनकै दलहरूमा विवाद बढेको छ ।
सरकारमा मन्त्रालयको भागबण्डा मिलाउन नसकेपछि गठबन्धनमै तिक्तता देखिएपछि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच विवाद देखिएको बताइएको छ । मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाएका थिए ।
देउवाले बोलाएको उक्त बैठकमै दुई दलका नेताबीच चर्काचर्की भएको बताइएको छ । स्रोतका अनुसार बैठकमा महत्त्वपूर्ण मन्त्रालय माग गरेको र त्यसैमा एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवबीच चर्काचर्की भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष नेता नेपालले आफ्नो पार्टीले पाउने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हुनुपर्ने माग गरेपछि यादवले भने माधवलाई महत्वपूर्ण मन्त्रालय दिन नसकिने भन्दै चर्किएका थिए ।
यादवले बैठकमा भनेका थिए, ‘माधवजीले पाउनुहुन्छ भने त्यो आफ्नो कुरा भयो । तर शक्ति सन्तुलनको हिसाबले उहाँले दुवै मन्त्रालय माग गर्न मिल्दैन,’ बैठकमा सहभागी ती नेताले यादवको भनाइ उद्धृत भने ।
ती नेताका अनुसार यादवले माधव नेपालको पार्टीलाई भौतिक र उद्योगमध्ये एक दिन सकिने तर बाँकी भने अन्य मन्त्रालय लिनु पर्ने बताए । ‘उद्योग र सहरी विकास उहाँले लिनुपर्छ । भौतिक नै चाहिन्छ भने उहाँलाई शिक्षा मन्त्रालय पनि दिन सकिन्छ । तर दुवै मन्त्रालय दिन मिल्दैन ।’
काँग्रेसले यसअघि नै गृह र कानुन मन्त्रालय लिइसकेका छन् । माओवादी केन्द्रले पनि अर्थ र ऊर्जा तथा जलस्रोत मन्त्रालय सम्हालिसकेको छ । सत्ता साझेदार बाँकी दुई दलले पनि महत्त्वपूर्ण मन्त्रालय माग गरेको र त्यसैमा एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवबीच विवाद देखिएको हो ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । छलफलबाट सहमति नभएकाले पुनः बैठक बसेर सहमति जुटाउन प्रयास हुने जनाइएको छ ।