चीनले नेपाललाई धन्यवाद दिँदै भन्यो: नेपालको साथमा हामी छौँ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

चीनले नेपाललाई धन्यवाद दिँदै भन्यो: नेपालको साथमा हामी छौँ



काठमाडौं- चीनले नेपाललाई धन्यवाद दिएको छ । कोरोना उत्पत्तिसम्बन्धी विवादमा नेपालले साथ दिएको भन्दै चीनले नेपाललाई धन्यवाद दिएको हो । एक विज्ञप्ति जारी गर्दै चीनले आभार समेत व्यक्त गरेको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै नेपालले कोरोना उत्पत्तिसम्बन्धी विषयमा सधैं निष्पक्ष अडान लिएर चीनलाई महत्वपूर्ण समर्थन गरेको जनाएको छ। नेपालसहित ८० मुलुकले कोरोनाको उत्पत्तिसम्बन्धी विषयलाई राजनीतीकरण नगर्न विश्व स्वाथ्य संगठनका महानिर्देशकलाई पत्र लेखेको विज्ञप्तिमा जनाइएको छ।

चीनले कोभिडको उत्पत्तिका विषयमा विज्ञानमा आधारित प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ। उसले यो विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेको छ। चीनले यस विषयमा नेपालसँग मिलेर काम गर्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ।

कोरोना महामारी सुरु भएदेखि नै चीन र नेपालले एकअर्कालाई सधैं सहयोग तथा समर्थन गरिरहेको र यो कोरोनाविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोगको एउटा राम्रो उदाहरण भएको चीनले जनाएको छ। चीनले नेपाललाई हालसम्म सहयोग तथा खरिद प्रक्रियामार्फत ७० लाख डोज खोप उपलब्ध गराइसकेको र नेपालको हकमा चीन एक नम्बर आपूर्तिकर्ता बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ। चीनले कोरोनाविरुद्धको सहयोगलाई अझ सशक्त बनाउने र आफ्नो क्षमताअनुसार नेपाललाई थप खोप पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

चीनले कोरोनाको उत्पत्तिका विषयमा अमेरिकी दाबीमा वैज्ञानिक आधार र विश्वसनीयता नरहेको जनाएको छ। अमेरिकी गुप्तचर संस्था सिआइए (सेन्टर इन्टेलिजेन्स एजेन्सी) र एफबिआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) ले गत शनिबार कोरोनाको उत्पत्तिका विषयमा एक रिपोर्ट सार्वजनिक गरेका थिए। रिपोर्टमा भाइरसको उत्पत्तिका विषयमा निकर्षमा पुग्न थप जानकारी आवश्यक रहेको उल्लेख गरिएको छ।

यसका लागि चीनको सहयोग आवश्यक रहेको तर चीनले जानकारी दिन नमानेको रिपोर्टमा जनाइएको छ। चीनले यो रिपोर्ट राजनीतिक उद्देश्यले तयार पारिएको र झुटो भएको दाबी गरेको छ। अमेरिकाले उक्त रिपोर्ट चीनलाई बदनाम गराउन र चीनमाथि हमला गर्न सार्वजनिक गरेको बेइजिङको दाबी छ।

चीनले भाइरस उत्पत्तिको विषय विज्ञानसम्बद्ध भएकाले यसबारे अनुसन्धानको काम गुप्तचर विज्ञलाई नभई वैज्ञानिकको जिम्मामा छोड्नुपर्ने बताएको छ। अमेरिकाले कुनै तथ्य र प्रमाणबिनै भाइरसको उत्पत्तिका विषयमा चीनलाई बदनाम गर्न एकपछि अर्काे मिथ्या सिर्जना गरिरहेको चीनको आरोप छ।