बाइडेनको चेतावनी: काबुल विमानस्थलमा थप आक्रमण हुनसक्छ - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

बाइडेनको चेतावनी: काबुल विमानस्थलमा थप आक्रमण हुनसक्छ



काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी दिएका छन्। अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका हुन्।

तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ। तर बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन्। गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १३ अमेरिकी सैनिकसहित कम्तीमा १७० जनाको ज्यान गएको थियो।

सो आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको थियो। जवाफमा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो।​ खोरसान प्रान्तमा आइएस–के अखडालाई निशाना बनाइएको आक्रमणमा सो समूहका दुई उच्च सदस्य मारिएको अमेरिकाले बताएको छ।

मारिनेहरु काबुल विमास्थल आक्रमणका योजनाकार रहेको अमेरिकी सैनिकको भनाइ छ। अफगानिस्तानमा रहेका मध्ये आइएस–के सबैभन्दा अतिवादी र हिंस्रक बिद्रोही समूह हो। सो समूहको तालिबानसँग गम्भीर मतभेद रहेको छ। अमेरिकासँग भएको शान्ति सम्झौताका लागि तालिबानले युद्ध मैदान छोडेको आरोप आइएस–के को छ।

तालिबानले अमेरिकाले गरेको हावाई आक्रमणको निन्दा गरेको छ। समाचार संस्था रोयटर्ससँग तालिबानका एक प्रवक्ताले अमेरिकाले हवाई आक्रमण पूर्व आफूहरुसँग सल्लाह लिनु पर्नेमा नलिएको बताएका छन्।