महासागरमा पौडी खेल्न नसकेर माधव नेपालले खाल्डो खने: केपी ओली - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

महासागरमा पौडी खेल्न नसकेर माधव नेपालले खाल्डो खने: केपी ओली



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले जत्रो महासागरमा पौडी खेल्न नसकेर माधव नेपालले खाल्डो खनेको बताएका छन् ।

उनले एमाले महासागर जत्रो पार्टी भएको बताए । उनले एमालेसँग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी भएको बताए ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ उनले कटाक्ष गरे, ‘अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।’

पार्टी फुटाएर गएका माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए ।

माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए । ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन । अर्को टुसो आउँछ ।’