राजेन्द्र पाण्डेले भने: अष्टलक्ष्मीलाई मुख्यमन्त्रीबाट बिदा गर्दैछौँ
मकवानपुर- नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्नेबताएका छन् । उनले शाक्य एमालेमै रहे तत्काल सरकार ढल्ने बताए ।
नेता पाण्डेले आफूहरूले समर्थन फिर्ता लिने तयारी गरेको बताउँदै सरकार ढल्ने चरणमा रहेको पनि खुलाए । एकल बहुमत रहेको एमाले फुटेर नयाँ दल दर्ता भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको समयमा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो ।
सांसद पाण्डेले दल दर्ताको आधिकारिक पत्र प्रदेशसभामा आएसँगै शाक्यलाई दिएको समर्थन लिने तयारी भएको बताएका छन् । ‘हामीले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । विश्वासको मत लिनुपर्ने हुन्छ,’ उनले भने ।
शाक्य नवगठित पार्टीमा आएको खण्डमा मुख्यमन्त्री मान्न सकिने र एमालेमै रहेको खण्डमा नयाँ सरकार गठनका लागि कसरत गरिने उनले बताए ।उनले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत रुपमा हटाइने बताए ।
‘हामीसँग प्रदेशसभाका २१ जना सदस्य छन् । अझै थप्ने कोसिस गरिरहेका छौं । यो सरकार ढल्छ । अष्टलक्ष्मीलाई बिदाइ गरिन्छ । हामी गठबन्धनमा रहेका तीनवटा पार्टी मिलेर नयाँ सरकार बनाउँछौं,’ उनले भने ।
उनले माओवादी र कांग्रेससँग छलफल गरेर कसको नेतृत्वमा प्रदेश सरकारमा जाने तय गरिने बताए । ‘नेतृत्व ठूलो विषय होइन । हामी गठबन्धनमा छौं । नेतृत्वको विषय सजिलै टुंगिन्छ,’ उनले थपे । १ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् ।
सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु नवगठित नेकपा (एकीकृत समाजवादी) मा खुलिसकेका कारण शाक्यले अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।