अमेरिकाद्वारा हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

अमेरिकाद्वारा हवाई हमला, काबुल विस्फोटका योजनाकार मारिएको दाबी



एजेन्सी- काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारलाई लक्षित गरी अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार आईएसआईएसलाई लक्ष्य गरी अमेरिकाले हवाई हमला गरेको हो।

हमलामा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी गरिएको छ । मिडियामा आएका समाचारमा हवाई हमला भएपनि विस्फोट गराउने मुख्य योजनाकार मारिएको पुष्टि भने भएको छैन ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । एक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ । सुरुवाती रिपोर्टअनुसार टार्गेट मारिएका छन् ।’ उनका अनुसार आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति भएको छैन ।

बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती विस्फोटमा १३ जना अमेरिकी सुरक्षाकर्मीसहित १६० जना अफगानी नागरिक मारिएका थिए । अमेरिकाले काबुल आक्रमणको ४८ घण्टापछि हवाई आक्रमण गरेको हो । स्काई न्युजका अनुसार २ जना ब्रिटिस नागरिक पनि मारिएका छन् ।

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेको छ । शुक्रबार मात्रै ४ हजार २ सयको उद्धार गरिएको छ । बिहीबार पनि करिब ७ हजार ५ सयको उद्धार गरिएको थियो । ह्वाइट हाउसका अनुसार अगस्ट १४ देखि यता अमेरिकाले १ लाख ९ हजारभन्दा बढीको उद्धार गरेको छ ।

यसैबीच अमेरिकाले काबुल विमानस्थलमा विभिन्न गेटमा रहेका आफ्ना नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए।