आन्द्रे रसेलले बनाए नयाँ रेकर्ड - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

आन्द्रे रसेलले बनाए नयाँ रेकर्ड



आन्द्रे रसेलले सिपिएल टी-२० इतिहासमै नयाँ रेकर्ड बनेका छन् । उनले वेस्टइन्डिजमा १४ बलमै अर्धशतक पुरा गरेका छन्। जारि करेबियन प्रिमियर लिग (सिपिएल टी-२०) मा रसेलले यस्तो किर्तिमान बनाएका हुन् ।

जमैका तलावाजको तर्फबाट खेलेका रसेलले सेन्ट लुसिया बिरूद्धको खेलमा १४ बलमा ३ चौका र ६ छक्का सहित अविजित ५० रन बनाएका हुन्। इनिंग्सको १८ औं ओभरमा ब्याटिङ गर्न आएका रसेलले ओभरको पहिलो बलमा १ रन लिएका थिए। त्यस पछि १९ औं ओभरको पहिलो बलमा छक्का प्रहार गरे। उनले यो ओभरमा ४ छक्का र एउटा नो बलमा चौका प्रहार गरे।

२० औं ओभरको दोस्रो बल सामना गरेका उनले लगातार ओबेद म्याकोयलाई लगातार २ छक्का प्रहार गरे भने ओभरको अन्तिम २ बलमा चौका हिर्काउदै अर्धशतक पुरा गरेका थिए।

सिपिएल टी-२० इतिहासकै यो सबैभन्दा छिटो अर्धशतक हो भने टी-२० क्रिकेटमा संयुक्त रुपमा तेस्रो छिटो अर्धशतक हो। हालसम्म टि-२० क्रिकेटमा ९ जना ब्याट्सम्यानले १४ बलमा अर्धशतक बनाएका छन्। रसेलले यसअघि गत वर्ष लंका प्रिमियर लिगमा कोलोम्बो किंग्सको प्रतिनिधित्व गर्ने क्रममा १४ बलमै अर्धशतक बनाएका थिए।

टी-२० क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड युवराज सिंह, क्रिस गेल र हज्रतुल्लाह जजाईको नाममा रहेको छ जसले समान १२ बलमा अर्धशतक बनाएका थिए। इंग्ल्यान्डका मार्कस थ्रेस्कोथिकले १३ बलमा अर्धशतक बनाएका थिए।

रसेलको आक्रामक इनिंग्स मद्दतले खेलमा जमैकाले टस हारेर ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट क्षेतीमा २५५ रन बनाएको छ। जमैकाका लागि केनार लिविसले ४८, चान्डविक वाल्टनले ४७ , कप्तान रोभवान पावेलले ३८ रन बनाएका थिए। जमैकाले अतिरिक्तबाट २५ रन जोडेको थियो।

जवाफी ब्याटिङ गरेको लुसियाले १७.३ ओभरमा अलआउट हुँदै मात्र १३५ रन बनायो। उसका लागि टिभ डेभिडले अर्धसतक बनाए पनि अन्य खेलाडीले जमेर खेल्न सकेनन्।

जमैकाका लागि मिगायल प्रेटोरियसले ४ विकेट लिँदा इमरान खानले तीन तथा क्रिश ग्रिन र आन्द्रे रसेलले समान १-१ विकेट लिए।