वाटमोरले राजीनामा दिनुअघि नै भारतीय क्लबसँग सम्झाैता गरेका थिए - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

वाटमोरले राजीनामा दिनुअघि नै भारतीय क्लबसँग सम्झाैता गरेका थिए



काठमाडौं- पारिवारिक समस्याका कारण राजिनामा दिएको भनिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेब वाटमोरले भारतीय क्लबसँग सम्झौता गरिसकेको खुलेको छ । उनले नेपाल आउनुअघि नै भारतको एउटा क्लबसंग सम्झौता गरेको खुलेको हो

वाटमोर नेपाली टिमलाई ओमान लगेकै बेला उनले भारतीय क्लबसँग सम्झौता गरेको खुलेको हो । भारतीय पत्रिकाका अनुसार यो सम्झौता भने उनले नेपाल आउनु अघि नै गरेका थिए । उनले भारतको रन्जी ट्रफी खेल्ने क्लब बारोडा स्टेट नेसनल टिमसँग सम्झौता गरिसकेका छन् ।

भारतीय पत्रिकाका अनुसार वाटमोरले गत डिसेम्बरमा बारोडा क्रिकेट संघको व्यवस्थापनलाई कोभिड–१९ महामारकिा कारण भिसा समस्या हुने भएकाले भारत आउन असमर्थ रहेको जानकारी गराएका थिए ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले यसबारे बिस्तृत खुलाएको छ । उसका अनुसार वाटमोरले २०२२ संस्करणको रन्जी ट्रफीका लागि बारोडाका लागि उपलब्ध हुनेगरी नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरेको जनाएको छ । बारडोरा क्रिकेट संघसँग वाटमोर अहिले पनि निरन्तर सम्पर्कमा रहेको समाचारमा उल्लेख गरेको छ ।

कोभिड–१९ महामारीका कारण भारतमा २०२१ को रन्जी ट्रफी नहुने भएपछि उनले ‘फुर्सदको समय’मा नेपाली क्रिकेट टिम हेर्न जिम्मेवारी सम्हालेका थिए । तर, वाटमोरले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि ओमन भ्रमणमा जाँदा अप्रत्यासित रूपमा राजीनामा दिएका छन् ।

वाटमोरले ओमान भ्रमणपछि लागु हुनेगरी राजीनामा दिएको नेपाल क्रिकेट संघले जनाएको छ । वाटमोरले कोभिड–१९ महामारीका परिवारसँग अलग बस्न नसक्ने भन्दै क्यानलाई इमेल गरेको सचिव आशोकनाथ प्याकुरेलले जनाए ।

ओमानमा नेपालले भदौ २८ देखि असोज ४ गतेसम्म त्रिदेशीय शृंखला खेल्नेछ । त्यसअघि नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । वाटमोर डिसेम्बर २०२० मा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २०२१ जनवरीबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका हुन् ।