ओलीलाई साथ दिएपछि आफ्नैले पनि छाडे, 'बिना सिपाहीको क्याप्टेन' बन्दै भीम रावल - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

ओलीलाई साथ दिएपछि आफ्नैले पनि छाडे, ‘बिना सिपाहीको क्याप्टेन’ बन्दै भीम रावल



काठमाडौं- पार्टी विभाजनपछि पुराना सहकर्मीलाई छाडेर ओलीलाई साथ दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिममा धक्का लागेको छ । आफ्ना निकटका नेताहरूले भटाभट छाड्न थालेपछि उनी ‘बिना सिपाहीको क्याप्टेन’ हुने देखिएको छ । सुदूरपश्चिममा बलियो पकड भएका रावल नेपाल समूह छाडेर ओलीतिर लागेपछि यस्तो देखिएको हो ।

रावलको पकड मानिने र उनकै नजिकका मानिने नेताहरूले साथ छाडेर एकीकृत समाजवादी पार्टीमा लग्न थालेपछि रावल यतिबेला तनावमा परेका छन् । एमालेमा केपी शर्मा ओली र माधवबीच शक्तिसंघर्ष हुँदा पनि रावलको पक्षमा देखिएका नेताहरू अहिले भने रावलको साथ छाडेर नेपाल नेतृत्वको पार्टीमा लागेका छन् ।

रावललाई केही विश्वासपात्रहरुले छाडिदिएका छन् । उनको पकड विगतको तुलनामा गुमेको छ । त्यतिमात्र होइन उनको साथमा भएकाहरूले पनि अहिले बार्गेनिङ गर्न थालेको गुनासो रावलले गर्न थालेका छन् । सर्वोच्च अदालतको फैसलापछि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा सांसद पदबाटै राजिनामा दिएर फिर्ता लिएपछि नै केहि नेताहरूले उनलाई नैतिकता नभएको भन्दै छाड्न थालेका थिए । पछिल्ला कदमले रावललाई राजनीतिमा ठुलो धक्का लागेको छ ।

रावलका विश्वासपात्र मानिने दीर्घ सोडारीले साथ छाडेका छन् । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधारमन्त्री सोडारी कैलालीमा प्रभावशाली नेताका रूपमा चिनिएका छन्।
त्यस्तै रावल निकट मानिएका प्रदेशमा मन्त्री रहेका पूर्णा जोशी र माया भट्टका र प्रदेश सभा सदस्य तारा लामा पनि एकीकृत समाजवादीमा लागेका छन् ।

त्यतिमात्र होइन अछामका शेरबहादुर कुँवरले पनि भीम रावलको साथ छाडेका छन् । कुँवर अछाम जिल्ला अध्यक्ष भइसकेका छन् । रावललाई गृहजिल्लामा समेत कमजोर बनाउन सक्ने कुँवले साथ छाडेपछि तनावमा परेका छन्।

सुदूरपश्चिममा २५ जना नेकपा एमालेका प्रदेश सभा सांसद थिए । ओलीको पक्षमा ८ र ओलीइतर समूहमा १७ थिए । १७ मध्ये अधिकांश नेकपा एसमा जाने भएका छन् । उनीहरुलाई रोक्न प्रयास भइरहेपनि नरोकिने देखिएको छ ।

लेखराज भट्टका कारण अर्को तनाव

सुदूरपश्चिममा प्रभावशाली मानिएका दुई कम्युनिष्ट नेता रावल र लेखराज भट्ट एकै पार्टीको एकै समूहमा बहेका कारण रावल थप तनावमा छन् । पूर्वमाओवादेका नेता भट्ट त्यहाँका निकै प्रभावशाली नेता हुन् । एमालेमा आएको उथलपुथलले रावल र भट्टबीच पावरको लडाई हुने पक्का छ।

माओवादी छाडेर एमालेमा लागेपछि भट्ट ओलीका विश्वासपात्र बनेका छन् भने रावल यसपहिले ओलीका कट्टर आलोचक थिए । रावल नेकपा एमालेका उपाध्यक्ष भएपनि ओलीले उनलाई कहिलै बिश्वास गरेनन। भट्ट एमालेमै आएपनि पहिले दुवै नेताको गुट फरक थियो। भट्टले ओलीको साथ छोडेनन्। रावल भने एमालेकै अर्को पक्ष माधव नेपाल समूहमा थिए।

अध्यक्ष केपी शर्मा ओलीले दुई पटक गरेको संसद विघटनको विरूद्धमा खरो विरोध गरेका रावल नेपालले नयाँ दल दर्ता गरेपछि भने उनको साथ छोडेर ओलीकै पक्षमा लागेका छन्। नेकपा रहिरहेका बेला प्रचण्डले रावललाई च्यापेपछि भट्ट ओली पक्षमा लागेका थिए। तत्कालीन अवस्थामा भट्ट ओली सरकारका मन्त्रीसमेत थिए।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी रावललाई दिइएको थियो। उनीभन्दा जुनियर नेता पार्टीको ९ जनाको सचिवालयमा बस्दा आफूलाई प्रदेश इन्चार्ज र स्थायी समितिमै सीमित पारेको भन्दै रावल असन्तुष्ट थिए। नेकपाभित्रको विवाद बढ्दै जाँदा उनलाई इन्चार्जबाट हटाएपछि भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको थियो।

समानान्तर कमिटी चलाएको नेपाल समूहले रावल नै प्रदेशको इन्चार्ज भएको भन्दै प्रदेश पार्टी कार्यालयमा भट्टको नामको नेमप्लेट हटाएर रावलको नेमप्लेट राख्न लगाएको थियो। जहाँ दुई समूहबीच तनावको अवस्था सिर्जना भएको थियो। यसपछि रावल र भट्टको सम्बन्ध झन् चिसिएको थियो। अहिलेको अवस्थामा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्जका रूपमा भट्ट छन्।

पार्टी २०७५ जेठ २ अगाडिको अवस्थामा गयो भने प्रदेश इन्चार्ज नहुन सक्ने अवस्था छ भने नेता रावल उपाध्यक्ष यथावत् छन्। तत्कालीन समयमा प्रभावशाली नेताद्वय रावल र भट्ट अहिले कार्यकर्ता बिहिन जस्ता देखिएका छन्। उनीहरूले आफ्नै विश्वास पात्रलाई पनि गुमाएका छन्। वर्षौँ माओवादीमा बिताएका भट्टले एमाले बन्ने निर्णय गर्दा धेरै नेता कार्यकर्ताले उनलाई साथ दिएनन्। रावलको अवस्था पनि लगभग उस्तै छ।