परासी बजार डुब्यो, स्थानीयहरू घरको छतमा (फोटो फिचर) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

परासी बजार डुब्यो, स्थानीयहरू घरको छतमा (फोटो फिचर)



काठमाडौं- गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन्। नवलपरासीको परासी बजार डुबानमा परेको छ। बजार नै डुबानमा परेपछि अधिकांश स्थानीयहरू ज्यान जोगाउन घरको छतमा बस्न सुरू गरेको बताइएको छ ।

झरही खोलाको पानी परासी बजारमा पस्दा डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। परासी बजारका अधिकांश घरको भुइँतला डुबानमा परेका छन्। सुरक्षाकर्मीले उद्धार गरिरहेका छन्। त्यस्तै, रुपन्देहीको दक्षिणी भाग मर्चवार तथा भैरहवा र तिलोत्तमाका केही भाग पनि डुबानमा परेका छन्। गएरातिदेखिको वर्षा रोकिएको छैन।

वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड पनि अवरुद्ध भएको छ। राजमार्गको बुटवल–देवदेह खण्डमा पुल भासिएको छ भने विभिन्न ठाउँमा बाढीले कलभर्ट बगाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, लुम्बिनी प्रदेशका साथै गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। विभागको अहिले बिहान ८ः४५ बजेको रेकर्ड अनुसार नवलपुरमा पछिल्लो २४ घण्टामा २७८.८ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी दुमकौलीमा २११, रुपन्देहीको भगवानपुरमा २२१, कपिलवस्तुको वाणगंगामा ३३६ मिलिमिटर वर्षा भएको छ। विभागका अनुसार, सिन्धुली, बारा, धनुषा, चितवन लगायतका स्थानमा पनि भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म नै भारी वर्षाको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।