कालिकोटका माधव नेपालको पक्षमा दुईतिहाइ, एमाले निकै कमजोर - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

कालिकोटका माधव नेपालको पक्षमा दुईतिहाइ, एमाले निकै कमजोर



काठमाडौं-नेकपा एमाले विभाजन भएपछि देशभर यसको प्रभाव पर्न सुरू गरेको छ । माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा लाग्नेहरू खुल्न थालेका छन् । यस्तै कालिकोटमा धेरैजसो एमाले नेताहरू एकीकृत समाजवादीमा लागेका छन् ।

६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेपछि एमाले ओली समूह भने निकै कमजोर देखिएको छ । त्यतिमात्र होइन जनप्रतिनिधिहरू पनि अधिकांश एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका अध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना समाजवादीमा लाग्ने भएका छन् ।

पार्टीको माहोल बन्दैगर्दा खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष षडानन्द चौलागाई र उपाध्याक्ष पम्फा शाही एकीकृत समाजवादीमा खुलेका छन् ।

खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जर्सीप्रसाद पाण्डे र महावु गाउँपालिकाका उपाध्यक्ष मनराज शाही मात्रै एमालेमा रहेका छन् । त्यतिमात्र होइन २४ वडाअध्यक्षमध्ये खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगदेश शाही, ४ का दानसिंह विक एकीकृत समाजवादीमा लागेका छन् ।

पचालझरना गाउँपालिका १ का रत्नलाल न्यौपाने, रास्कोट नगरपालिका ९ का डबल वोगटी, सान्नीत्रिवेणी ७ का मनिराम सिम्खडा, ८ का जनक केसी पनि नयाँ पार्टीमा खुलेका छन् । नरहरीनाथ गाउँपालिका तीनका टक्कबहादुर विष्ट, शुभकालिका गापा ४ का रामहादुर शाही, ५ का केशन शाही, ६ का कर्णबहादुर खत्री, महावु सातका धर्मराज शाही, पाँचका गहुँकला शाही नयाँ दलमा लागेका छन् ।

नेकपा एमाले कालिकोटको नवौं महाधिवेशनमा नेपाल पक्षका ३५ जना निर्वाचित थिए । अहिले एकीकृत समाजवादीमा ४० भन्दा बढी सदस्य लागेको बताइएको छ ।