एमालेले निर्वाचन आयोगविरुद्ध मुद्दा हाल्ने - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

एमालेले निर्वाचन आयोगविरुद्ध मुद्दा हाल्ने



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्न अदालत जाने भएको छ।विहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले कारबाहीमा परेका सांसदहरूको समेत सनाखत गरिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

‘निर्वाचन आयोगबाट विवादस्पद निर्णय भएको छ,’ बैठकपछि नेता प्रदीप ज्ञवालीले भने, ‘कारबाहीमा परेका सांसदहरूलाई पनि सनाखत गर्ने काम भएको छ। हामी कानुनी उपचारका लागि अदालत जाँदैछौं।’ ज्ञवालीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी दिए।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ जना सांसदलाई पदमुक्त गर्ने सूचना टाँस नगरेको भन्दै संसदीय अभ्यासअनुसार विरोध गरिने उनले बताए।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा २१ दिनभित्र दल रोज्न पाउन गरिएको व्यवस्थालाई एमालेले असंवैधानिक ठहर गरेको छ।

‘२१ दिनभित्र दल रोज्न पाउने गरी अध्यादेशको व्यवस्था संविधानले परिकल्पना नै गरेको छैन,’ ज्ञवालीले भने,‘केन्द्रीय कमिटी बैठकले त्यसलाई असंवैधानिक ठहर गरेको छ। र, उक्त प्रावधानविरुद्ध पनि हामी कानुनी उपचारमा जाँदैछौं।’

एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिलाई शीघ्र कार्यान्वयनमा ल्याउन निर्णय गर्दै पार्टी एकताका पक्षमा आउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको छ।

साथै बैठकले यसअघि स्थायी कमिटीले गरेका निर्णयहरू अनुमोदन गरेको छ।विहीबार बसेको केन्द्रीय कमिटी बैठकमा भीम रावल, युवराज ज्ञवाली, योगेश भट्टराईलगायतका माधवकुमार नेपालनिकट नेताहरू पनि सहभागी भएका थिए।