हिम्मत नभएकाले बीचमै छाडेर दक्षिणपन्थीलाई साथ दिए: माधव नेपाल - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

हिम्मत नभएकाले बीचमै छाडेर दक्षिणपन्थीलाई साथ दिए: माधव नेपाल



काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्वसहकर्मीहरुप्रति हिम्मत नभएकाहरु भन्ने टिप्पणी गरेका छन् ।

नयाँ पार्टी गठन गरेपछि पहिलो पत्रकार सम्मेलनमा नेता नेपालले लामो समय आफ्नो पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका नेताहरुलाई इग्गित गर्दै भने, ‘हिम्मत नभएकाहरु अरुको पछि लागिरहन्छन् । अरुको पछि लतारिन्छन् । क्रान्तिकारीहरु अगाडि बढ्छन् । इतिहासमा यस्तो हुनेगर्छ । यो कम्युनिष्ट पार्टी पुनर्गठनको योजना हो ।’

यद्यपि, नेता नेपालले आफूलाई छाड्नेप्रति कुनै गुनासो नरहेको भन्दै, ‘लामो यात्रामा कोही बीचमै थाक्दा रहेछन् । थाक्ने थाकिरहन्छन्, विभिन्न कारणले अघि बढ्न नसक्नेहरू थाकिरहन्छन् । मेरो केही गुनासो छैन’ भने ।

केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्‍याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गरे ।

शुरुमा नेपालतर्फ रहेर केपी ओलीको विरोधमा उत्रने नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहराले पार्टी विभाजनमा नेपाललाई साथ दिएका छैनन् ।

गत वर्ष चैतको ४ र ५ मा भएको राष्ट्रिय भेलाको भावना अनुरुपै नयाँ पार्टी बनाएको जिकीर गर्दै उहाँले दक्षिणपन्थी भासमा फसेका ओलीले पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुशी मनाएको आरोप पनि लगाए ।