नेकपा एकीकृत समाजवादीलाई आजै प्रमाण पत्र दिने आयोगको तयारी
काठमाडौं- निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई आजै प्रमाण पत्र दिने तयारी गरेको छ । अहिले नेताहरूले निर्वाचन आयोग पुगेर हस्ताक्षर सनाखत गरिरहेका छन् ।
नयाँ दल दर्ता प्रयोजनका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोगले दिउँसो २ बजेसम्मको समय दिएको छ । यदि संख्या पुगेको खण्डमा आजै प्रमाण पत्र पाउने छन् ।
दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या आवश्यक हुने कानूनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ । नयाँ दलको मान्यता पाउनका लागि नेपालले साविक एमालेका ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको हस्ताक्षर जुटाउनुपर्ने हुन्छ ।
निर्वाचन आयोग पुगेका पूर्वमन्त्री प्रेम आलेले ३१ सांसद र ६२ केन्द्रीय सदस्य हस्ताक्षर सनाखतका लागि आएको दाबी गरेका थिए । माधव नेपालको पक्षमा हस्ताक्षर सनाखत गर्न एमालेका पुराना एवं सर्वमान्य नेता प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेका थिए ।