निर्वाचन आयोगको उर्दी: एमाले र जसपाका सांसद २ बजेभित्र आउनु - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

निर्वाचन आयोगको उर्दी: एमाले र जसपाका सांसद २ बजेभित्र आउनु



काठमाडौं– निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका सांसदहरूलाई आज २ बजे भित्र उपस्थित हुन उर्दी जारी गरेको छ । दल विभाजनपश्चात् निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलको सनाखत आयोगले आज गर्ने भएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा प्रस्तावित नयाँ दल नेकपा (एकीकृत समाजवादी) तथा महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको समाजवादी लोकतान्त्रिक पार्टीको सनाखतका लागि नेताहरू आयोगमा भौतिकरुपमा उपस्थित हुनुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी दुवै दलले औपचारिकरुपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए।

अध्यादेशमा भएको कानुनी व्यवस्था बमोजिम २० प्रतिशतको समर्थन संख्याको आधारमा नयाँ दलको सनाखत हुने श्रेष्ठले बताए।

सनाखतका लागि बुधबार बिहान ११ः३० देखि दिउँसो २ बजेभित्र आयोगमा उपस्थित हुनुपर्ने उनले जानकारी दिए। सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने भएकाले र कोभिड १९को मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी समय र स्थान निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।