२० प्रतिशत सांसद पुगेनन्, नेपाल समूह तनावमा
काठमाडौं- एमाले छाडेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेता माधवकुमार नेपाल समूह तनावमा परेको छ । निर्वाचन आयोगले दिल्लीमा उपचाररत नेता झलनाथ खनालसहित नयाँ थपिएका चार जनाको सनाखत नगरिदिने भएपछि उनीहरू तनावमा परेका हुन् ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)मा २० प्रतिशत सांसद नपुग्ने देखिएको छ । निर्वाचन आयोग स्रोतका अनुसार दर्ताका लागि बुझाइएको निवेदन अनुसार नेपालसँग ३१ जना सांसद छन् । त्यो संख्या अहिले कायम रहेको सदस्य संख्याको २० प्रतिशत हो तर त्यसमा केही सांसदको हस्ताक्षर छुटेकाले अपुग हुने भएको छ।
आयोगले मंगलबार एमाले छाडेर नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा समावेश हुन निवेदन दिएका तीन एमाले सांसद र एक केन्द्रीय सदस्यको बुधबार सनाखत नगराउने भएको छ। सांसद सोमप्रसाद पाण्डे, शारदा भट्ट, माया ज्ञवाली र केन्द्रीय सदस्य राजन राईसहित चार जनाले मंगलबार मात्रै आफूहरू पनि नेकपा (एकीकृत समाजवादी) मा समावेश हुन पाऊँ भन्दै निवेदन दिएका थिए।
आयोगका एक अधिकारीका अनुसार मंगलबार पनि चारजना सांसद आयोगमा उपस्थित भएर आफूहरु माधव नेपाल समूहको भएको दाबी गर्दै सनाखतमा उपस्थित गराउन माग गरेका थिए । तर ति सांसदहरूलाई आयोगले अहिले सनाखत गर्न नमिल्ने भनेको छ । आयोगले यसरी थपिँदै जानेको सनाखत गर्न नसकिने बताएको छ ।
तर निर्वाचन आयोगले संसद् सचिवालयमा नेकपा एमालेका आधिकारिक सांसदको संख्या उपलब्ध गराइदिन भन्दै पत्राचार गरेको छ । संसद् सचिवालयबाट बेलुकासम्म पनि जवाफ पठाएको छैन ।
राजनीतिक दल सम्बन्धी अघिल्लो हप्ता मात्रै सरकारले जारी गरेको अध्यादेशमा नयाँ दल गठन गर्न चाहने सांसद र केन्द्रीय सदस्यहरूले एकैपटक आयोगमा निवेदन दिनुपर्ने उल्लेख छ। साथै आयोगमा स्वयं उपस्थित भएर सनाखत गर्नु पर्नेछ। आयोगले निवेदन दिएका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बुधबार ११ बजेदेखि साढे एक बजेभित्र उपस्थित हुन भनेको छ।
आयोगले कडाई गरेपछि तनावमा देखिएका नेता खनालले दिल्लीबाट र नेता नेपालले पनि मंगलबार आयोगमा फोन गरेर सहयोग गरिदिन अनुरोध गरेका थिए। आयोगले भने कानुनभन्दा बाहिर गएर काम गर्न नसक्ने व्यहोरा दुवै नेतालाई जानकारी गराएको छ। आयोग बुधबार पनि आफ्नो अडानमा कायम रहेमा नयाँ पार्टी गठन गर्नका लागि आवश्यक सांसद संख्या पुग्ने छैन।
तर एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरिसकेकाले उनीहरू बुधबार आयोगमा उपस्थित भएर सनाखत गरेको खण्डमा एमाले (एकीकृत समाजवादी) औपचारिक रूपमा दर्ता हुनेछ।