माधव नेपालको अपिल: ओलीले ‘वार्ता र सहमति’ भन्दै अर्को बेइमानी गर्दैछन् - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

माधव नेपालको अपिल: ओलीले ‘वार्ता र सहमति’ भन्दै अर्को बेइमानी गर्दैछन्



काठमाडौं – नयाँ पार्टीको गठनमा लागेका एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगका‘वार्ता र सहमति’ भएका भ्रमपूर्ण समाचार सार्वजनिक भएका बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अगाडि बढीरहेकाले पुन: बेइमानी एवं धोखाधडीको निरन्तरता स्वरुप यस्ता समाचार आएका बताए।

‘नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक-पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति,न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गर्दछु’, नेपालले भने।

उनले मुलुकको समृद्धि एवं जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढाइएको बताए। ‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिकाविरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवं जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको छ।’, नेपालले भने।

गत सोमबार अध्यक्ष ओली र नेपाल पक्षमै रहेर तटस्थ बसेका नेताहरूबीच पार्टी एकता गरेर अगाडि बढ्ने गरी बालकोटमा सहमति भएको थियो। कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गरेका उनीहरूले ओलीले आज बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुने बताएका थिए।