नौं भाईको चरित्र: नेपाललाई उचाल्ने, ओलीसँग आत्मसमर्पण गर्ने
काठमाडौं- नेता माधवकुमार नेपालले पार्टी फुटाएर गल्ती गरेको र उनी एमालेमा नआउने निचोड निकाल्दै ९ नेताहरूले एमाले अध्यक्ष केपी ओलीलाई सघाउँदै मूलधारमै रहने निर्णय गरेका हुन् । उनीहरूले सोमबार बालाकोत्मा बहेको छलफलपछि आत्मसमर्पण गर्ने निर्णय गरेका थिए । मंगलबार बोलाइएको स्थायी कमिटि बैठकमा कुनै भवितव्य नभए उनीहरू ओलीलाई नै साथ दिने घोषणा गर्नेछन् ।
पार्टीको विवादमा लामो समय नेपाललाई साथ दिँदै उनलाई उचाल्दै अनेक गर्न उक्साउने ति नेताहरू विभाजनमा नेता नेपाललाई साथ दिन अस्वीकार गरेक छन् । पार्टीभित्र समानान्तर अभ्यास समेत गरिसकेका दोस्रो पुस्ताका नेताहरूले यथास्थितिमा एमालेमा फर्किँदा आत्मसमर्पण गरेको सन्देश जाने भएकाले उनीहरूले १० बुँदे सहमति र कारबाही फिर्ताको एजेन्डा उठाएका छन् ।
उनीहरूले यो मुद्दा अहिले मात्रै होइन ओलीले गरेका कैयौँ निर्णयहरू सच्चाउन सयौँपटक आग्रह गरेका थिए । ओलीले उनीहरूको सुझाव एकातिर सुनेर अर्कातिर उडाउने गरेका थिए । १० बुँदे सहमति पालना नभए विद्रोह गर्ने चेतावनी दिएका ती नेताहरूले सोमबार बालकोटमा अध्यक्ष ओलीसँग वार्ता गर्दै आत्मसमर्पण गरेका छन् ।
ओली सहमति पालना गर्न तयार भएकाले अब आफूहरू एमालेमै रहने र फुटेर गएका नेताहरूलाई पनि विभाजनको गतिविधि स्थगन गर्न आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले बताए ।’अध्यक्षले एमाले एकताका लागि १०बुँदे सहमति पालना गर्न र सबै साथीहरूलाई समान व्यवहार गर्न तयार छु भन्नुभएको छ । उहाँले पुराना जिम्मेवारीहरूलाई यथावत राख्ने प्रतिबद्धता जनाउनुभएको छ । हामी अब स्थायी कमिटी बैठक बसेर सहमति कार्यान्वयनको मोडालिटी बनाउँछौँ,’ भट्टराईले भने ।
सबै तहका कमिटीलई २ जेठ २०७५ को स्थितिमा लैजान अध्यक्ष ओली तयार भएको र १० बुँदे सहमति पालनाका लागि मोडालिटी बनाउन बैठक तय भएकाले अब एमालेमै रहने सचिव भट्टराईले बताए । यसका लागि एमालेका तीन नेताहरूलाई खाका बनाउने जिम्मा दिइएको बताइएको छ । जसमा पार्टी इश्वर पोखरेल, विष्णु पौडेल र भीम रावललाई तोकिएको छ ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, अर्का उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले आफूहरू एकताकै पक्षधर भएकाले कतै नगएको स्पष्टीकरण दिएका थिए । पार्टीलाई बचाउने प्रमुख दायित्व नेतृत्वकै हुने भएकाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न सुझाव दिँदै आफूहरूले नेतृत्वलाई सघाउने बताएका छन् ।बैठकमा उपाध्यक्ष शाक्यले भनिन्, ‘हामी एकताको पक्षधर हौँ । त्यसैले कतै गएका छैनौँ । नेतृत्वलाई साथ दिन तयार नभएको भए हामी पनि कतै जान्थ्यौँ होला । पार्टीको समस्या समाधानमा तपाईं नै लाग्नुपर्छ । हामी सघाउन तयार छौँ।’
यस्तै, उपाध्यक्ष रावलले पार्टी बचाउन नेतृत्वकै भूमिका प्रमुख हुने भएकाले त्यसमा केन्द्रित हुन ओलीलाई आग्रह गरेका थिए । नेतृत्वलाई सफल पार्नका निम्ति सधैँ सहयोग गर्ने रावलको भनाइ थियो । ‘एमालेलाई कमजोर बनाएर कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सकिँदैन । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ । हामीले एमाले छाड्दैनौं । तपाईं पार्टीलाई बलियो बनाउन तयार हुनुहोस्,’ रावलले बैठकमा भनेका थिए ।
उपमहासचिव भुसालले पार्टी फुटे पनि केही नहुने सोच नराख्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए । ‘देशको शक्तिशाली र पुरानाे पार्टी विभाजन हुँदा मुलुकलाई नै अप्ठ्यारो पर्छ । हामी एमालेलाई जोगाउन मात्रै होइन बलियो बनाउन एक ठाउँमा छौँ । तपाईं लचिलो भएर सहमति पालनामा अघि बढ्नुस् । एमालेलाई मजबुद बनाउन हामी सघाउने छौँ,’ भुसालले भने ।
स्थायी कमिटी सदस्यहरूको आग्रहपछि अध्यक्ष ओलीले १० बुँदे सहमतिको पालनाको प्रतिबद्धता व्यक्त गर्दै त्यसको मोडालिटी तयार पार्ने जिम्मा उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले एमालेमा फर्किन तयार भए विभाजनमा लागेकाहरूको कारबाही समेत फिर्ता गर्ने बताएका छन् ।
‘एकताको भावमा गएपछि कारबाही, प्रतिशोध, दण्ड सजाय भन्ने कुरा सान्दर्भिक हुँदैनन् । एमालेमा फर्किनुहुन्छ भने कारबाही फिर्ता गर्न तयार छु,’ ओलीको भनाइ उद्दृत गर्दै सचिव भट्टराईले भने ।बैठकले नेता नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालेको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले थप कार्यकर्तालाई उता जानबाट रोक्न मंगलबार स्थायी कमिटी बैठकले अपिल गर्ने संकेत गरेका छन् ।
मंगलबार बस्ने बैठकमा पार्टीपंतिलाई अपील गरिने र केहि छुट्टै आह्वान गर्ने सम्भावना रहेको बताइएको छ ।