एक साता नबित्दै मुख्यमन्त्रीबाट राजीनामा दिने मूडमा अष्टलक्ष्मी
काठमाडौँ- हतारमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य राजीनामा गर्ने मूडमा पुगेकी छन् । समर्थनमा गत बुधबार मात्रै वाग्मती मुख्यमन्त्री बनेकी शाक्यलाई एमाले विभाजनका कारण अत्यन्त अफ्ठेरोमा परेकी छन् ।
उनी मुख्यमन्त्री बनेकै दिनदेखि एमाले विभाजनले औपचारिकता लिएको थियो । पही माधव नेपाल समुहमा लामो समय काम गरेकी नेतृ शाक्य ओलीको कट्टर आलोचकको रूपमा चिनिन्थिन । पछिल्लो समय मुख्यमन्त्री पदकै लागि नेपालको साथ छोडेर ओली समुहमा आगेकी शाक्य पछुताउन थालेकी छन्। पछिल्लो स्थितिमा उनले विश्वासको मत पाउने सम्भावना छैन ।
अब शाक्यसँग दुई वटा विकल्प मात्र बाँकी छन् । उनले आफ्नो सरकार टिकाइराख्नका लागि माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दलको पक्षमा जानुपर्ने हुन्छ । कि त उनले मुख्यमन्त्रीबाट राजिनामा नै दिनुपर्छ । उनी एमालेमै बस्न चाहे प्रदेशसभा भित्र एमालेको बहुमत नपुग्ने पक्का छ । माधव बेपाल समुहका नेताहरूले अब नेपाल समुहमा खुल्न दवाव दिइरहेका बेला उनी धर्मसंकटमा परेकी छन् ।
वाग्मती प्रदेशसभामा हाल १ सय ९ सदस्य छन् । त्यसमा एमालेका सभामुखसहित ५६ जना सांसद छन् । सरकारमा निर्माणमा सभामुखको मत प्रयोग हुँदैन । त्यसैले एमालेको एक जना मात्र संख्या कम हुँदा शाक्य नेतृत्वको सरकार अल्पमतमा पर्छ । वााग्मती प्रदेशसभामा यसअघिदेखि नै एमालेको ओली र नेपाल समूहबीच विवाद रहँदै आएको थियो । अहिले पार्टी विभाजनका क्रममा प्रस्तावित दल एकीकृत समाजवादीतर्फ ८ सांसद खुलिसकेका छन् । सो संख्या शाक्यलाई मुख्यमन्त्री हटाउनका लागि पर्याप्त हुन्छ ।
नेपाल समुहले भने अष्टलक्ष्मी आफ्नो पार्टीमा नआएको खण्डमा उनलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने तयारी थालिएको हो। प्रदेशसभामा पाण्डेका अतिरिक्त मुनु सिग्देल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, शान्ति पौडेल, पार्वती सिलवाल र रमा आले मगर नेपाल समुहमा खुलेका छन् ।
लामो समयदेखि नेपाल पक्षमा रहेकी शाक्य पछिल्लो समयमा पार्टीभित्रको विवाद समाधानका लागि भन्दै तेस्रो धारमा पुगेकी छिन् । एमाले अध्यक्ष ओलीको निर्देशनपछि डोरमणि पौडेलले मुख्यमन्त्री राजीनामा दिएर शाक्यलाई प्रस्ताव गरेका थिए । एमालेभित्रको समस्याको कारण शाक्य मुख्यमन्त्री बनेदेखि नै उनको कार्यकाल कति समयको हुने भन्ने विषयमा प्रश्न उठ्ने अवस्था आएको छ ।
मुख्यमन्त्री शाक्यले शनिबार राजधानीमा ओली पक्षको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको बैठकलाई सम्बोधन गरेकी थिइन् ।