माओवादीले थाल्यो कम्युनिष्ट एकता र ध्रुवीकरणको अभियान - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

माओवादीले थाल्यो कम्युनिष्ट एकता र ध्रुवीकरणको अभियान



काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले कम्युनिष्ट एकता र ध्रुवीकरणको अभियान थाल्ने भएको छ । पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुवीकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय माओवादीको स्थायी कमिटी बैठकले गरेको छ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत् ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रुपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दूमा राख्दै अरु सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुसँग पनि एकता र ध्रुवीकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।’

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको जानकारी दिँदै उनले विभागको प्रमुख पनि तोकेको बताए।

जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए। ‘बैठकमा मुख्यतया केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पूरा गर्ने एजेण्डामा छलफल भयो। त्यो छलफलअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ, इन्चार्जहरु तोक्ने काम भएको छ। त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ।

त्यसो गर्दा कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उहाँहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। र जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको छ।

यसरी सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निश्चित गर्ने काम भएको छ। र प्रदेश र जिल्लाका जिम्मेवारीहरु तय गरिएका छन्, यसका साथसाथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दूमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ। निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ।

मन्त्रिपरिषद् बिस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पूरा भइसकेपछि मन्त्रिपरिषद बिस्तार हुने बताए।!